१० करोडसम्मको वैदेशिक लगानी स्वीकृत गर्न स्वचालित प्रणाली लागू हुँदै
2023-04-21 16:51:03CRI
Share with:

नेपालको उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ। विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन लागेको बताउनुभयो।

उहाँले अब प्रचलित कानुन बमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृतका सेवाहरू स्वचालित बनाउने व्यवस्था गरेको जानकारी दिनुभयो। महानिर्देशक तिवारीले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भए बमोजिम अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न सुरु गरिएको बताउनुभयो।

महानिर्देशक तिवारीका अनुसार वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न सुरु गरेसँगै उद्योग विभागको सम्पूर्ण सेवा स्वचालित बनाउने विभागको तयारी छ। उहाँले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ संशोधनको तयारीमा रहेको भन्दै उक्त नियमावली कार्यान्वयनका लागि विभागले वेबमा आधारित स्वचालित प्रणाली निर्माण गरेको बताउनुभयो।

महानिर्देशक तिवारीले विदेशी लगानीकर्ताले शतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्नसक्ने, लगानी स्वीकृतको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैङ्क, कम्पनी रजिस्ट्रारको कार्यालयमा स्वचालित प्रणालीमार्फत नै हुने बताउनुभयो। लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृति लिइरहनु नपर्ने भएको उहाँको भनाइ छ। उहाँले उक्त प्रणाली लागू भएसँगै नेपालमा लगानीका लागि प्रशासनिक  सुधारको चरणमा रहेको भन्ने सन्देश जाने विभागले विश्वास लिएको बताउनु भयो।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी दुई करोडदेखि १० करोडसम्मको विदेशी लगानी अटोमेटिक रुटबाट गर्न लागेको हो। विभागले नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेसँगै कार्यान्वयन गर्ने बताइएको गोरखापत्र अनलाइनले लेखेको छ। उक्त प्रणाली अन्तर्राष्ट्रिय अभ्यासमा आफैँमा लगानीमैत्री वातावरणको एक महत्त्वपूर्ण सूचक रहेको भारत, बङ्गलादेश लगायतका मुलुकहरूमा भएको अभ्यासले देखाएको छ।