नेपालको अर्थतन्त्र सुधारको गतिमा
2023-04-23 16:14:59CRI
Share with:

नेपालको राजस्व विभागको पछिल्लो विवरणअनुसार राजस्व संकलनमा ६१ प्रतिशतले वृद्धि भएको छ। गत माघमा मासिक लक्ष्यको ५३ प्रतिशतले मात्रै राजस्व संकलन भएकामा फागुनमा ५४ प्रतिशत र चैतमा ६१ प्रतिशतले वृद्धि भएको छ।

विभागका अनुसार गत माघमा रु ३० अर्ब ८० करोड, फागुनमा रु ३१ अर्ब ८० करोड र चैतमा रु ३४ अर्ब ८० करोड बराबरको राजस्व संकलन भएको छ।

सरकारको खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल रु छ खर्ब ९५ अर्ब २३ करोड १५ लाख बराबरको राजस्व संकलन भएको छ। पछिल्लो विवरणअनुसार सरकारले रु सात खर्ब ३६ अर्ब बराबरको राजस्व रकम प्राप्त गरेको छ। सो अवधिमा रु नौ खर्ब ५५ अर्ब २४ करोड ७६ लाख बराबरको खर्च गरेको छ।

वैदेशिक मुद्राको सञ्चिति बढाउनका लागि सरकारले केही वस्तुको आयातमा रोक लगाएपछि भन्सार राजस्व संकलनमा केही दबाव परेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको आठ महिनामा कूल विदेशी सञ्चिति १४ खर्ब एक अर्ब २१ करोड बराबर पुगेको छ। सो अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४८ अर्ब ११ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ५८ अर्ब ६४ करोडले घाटामा थियो। यस्तै सो अवधिमा चालु खाता रु ४४ अर्ब ३१ करोडले घाटामा छ।

केन्द्रीय बैंकका अनुसार रु सात खर्ब ९४ अर्ब ३२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ। विदेश अध्ययन गर्न जाने विद्यार्थीले मात्रै सो अवधिमा रु ५४ अर्ब ७० करोड बराबरको रकम विदेश लगेका छन्। विदेश भ्रमणमा जानेले मात्रै रु ७६ अर्ब १२ करोड लगेका छन्। सरकारले यो खर्च कम गराउनेतर्फ विशेष ध्यान दिनुपर्ने जानकारहरुको भनाइ छ।

विप्रेषणमा सुधार भएको छ, विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार नेपाली अर्थतन्त्र न्यून माग र उच्च मूल्यवृद्धिका कारण समस्यामा परेको छ। निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्न नसक्दा विगतदेखि समस्या सिर्जना भएको उहाँको बुझाइ छ।

पछिल्ला दिनमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा पुनःविचार गर्दै लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न तयार भएको छ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले अर्थतन्त्रको सुधारका लागि आफू एक्लैले केही गर्न नसक्ने भएकाले सम्बद्ध सरोकारवालाले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ।

यतिबेला धीरता जरुरी रहेको र अनुत्पादक खर्च घटाउनुपर्ने अवस्था आएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले जोड दिनुभएको छ। अर्थतन्त्रमा सुधारको संकेत देखा परेको भए पनि ढुक्क हुने अवस्थामा नरहेको समय समयमा बताउनुभएका प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका प्रतिनिधिसँग अर्थतन्त्र सुधार्न केही नयाँ, ठूलो र गुणात्मक बजेट ल्याउने तयारीमा सरकार रहेको हालै बताउनुभएको छ। प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा महत अर्थतन्त्रको समस्या समाधानका लागि सरोकारवाला पक्षसँग नियमित संवाद गरिहेका छन्। त्यसैले अर्थतन्त्रले क्रमशः लय समात्दै गएकाले विचलित नहुन सरकारले आग्रह गरेको राससले जनाएको छ।