बिजुलीको प्रयोग बढ्दै गएपछि झन्डै आधा अर्बले घट्यो ग्याँस आयात
2023-04-24 16:03:28CRI
Share with:

भारतबाट नेपाल भित्रने खाना पकाउने एलपी ग्याँसको आयात चालु आर्थिक वर्षको नौ महिनमा झन्डै आधा अर्बले घटेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) ग्याँसको आयात ४९ करोड रुपियाँले कमी भएको हो। बजारमा ग्याँसको खपत कम हुँदा आयातमा समेत कमी भएको हो। विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ४४ अर्ब ८४ करोड ८६ लाख ५१ हजार रुपियाँ बराबरको ३८ करोड ७६ लाख ३० हजार ८१८ केजी ग्याँस आयात भएको हो । गत वर्ष सो अवधिमा ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपियाँ बराबरको ३९ करोड ५७ लाख २८हजार हजार केजी ग्याँस आयात भएको हो । गत वर्षको तुलनामा ४९ करोड ३८ लाख ६७ हजार रुपियाँ बराबरको ८० लाख ९७ हजार २५० केजी ग्याँस आयात कमी हो।

बजारमा बिजुलीको प्रयोग बढ्दै गएपछि ग्याँसको खपतमा कमी भएसँगै आयातमा समेत गिरावट आएको हो । ग्याँसभन्दा बिजुली सस्तो हुँदा पछिल्लो समय घरघरमा विद्युतीय चुलो (इन्डक्सन)को प्रयोग बढ्दै गएकाले पनि ग्याँसको खपतमा कमी आएको हो ।

मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन नहुँदा ग्याँसको खपत कम भएको व्यवसायीको भनाइ छ । घरायसीसँगै व्यावसायिक प्रयोजनमा समेत ग्याँस खपत हुने गर्छ । नेपाल एलपी ग्याँस उद्योग सङ्घका अध्यक्ष कुशकुमार मल्लीले मुलकमा देखा परेको आर्थिक असहज परिस्थितिका कारण होटल, रेस्टुरेन्ट, उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन नहुँदा ग्याँसको खपतमा कमी आएको जानकारी दिनुभयो । आर्थिक गतिविधि कम हुँदा औद्योगिक प्रयोग कम भएकाले खाना पकाउने ग्याँसको माग र खपतमा कमी आएको उहाँको भनाइ छ । जाडो समयको तुलनामा गर्मीमा ग्याँसको खपत समेत कम हुने गरेको उहाँको भनाइ छ। विशेष गरी ग्याँसको प्रयोग सिसा उद्योग, छड र फलाम उद्योगमा प्रयोग हुने गर्छ। यी उद्योगमा फर्नेस आयलको प्रयोग हुने गरेकामा फर्नेस आयल महँगो हुँदा ग्याँसको प्रयोग हुने गर्छ।

नेपाल आयल निगमका अनुसार विगतमा खाना पकाउने ग्याँसको खपत वार्षिक रूपमा १० देखि १५ प्रतिशतले हुने गरेकामा यो वर्ष सुरुदेखि नै घट्दै गएको छ । निगमका प्रवक्ता मनोजकुमारले ग्याँसको आयातमा सामान्य कमी आएको जानकारी दिनुभयो । निगमका अनुसार ग्याँस ३० प्रतिशत घरायसी प्रयोजन र ७० प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुने गर्छ ।

अहिले काठमाडौँमा रहेका ठूला रेस्टुरेन्टमा कारोबार घटेर ५० प्रतिशतमा सीमित भएको छ । रेस्टुरेन्टको खपत कम भएकाले ग्याँसमा असर देखिएको हो । त्यसमा उपभोक्ता इन्डक्सनतिर आकर्षित भएकाले पनि ग्याँसको खपत घटाउन सहयोग पुगेको व्यवसायीको भनाइ छ ।

गोरखापत्र अनलाइनका अनुसार मुलुकभर खाना पकाउने एलपी ग्याँसको प्रयोग ४४ प्रतिशतले गर्ने गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको २०७८ सालको जनगणनाअनुसार मुलुकभर ४४ प्रतिशतले ग्याँसको प्रयोग गर्ने गरेका हुुन् । सहरी क्षेत्रसँगै गाउँगाउँमा ग्याँसको प्रयोग बढ्दै गएकाले ग्याँसको प्रयोगकर्ता बढ्दै गएका हुुन् । मुलुकभर ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ५१ प्रतिशत परिवारले खाना पकाउने काठ/दाउरा प्रयोग गर्ने गरेका छन् । कुल दुई करोड ९१ लाख ६४ हजार ५७८ जनसङ्ख्यामध्ये ६६ लाख ६० हजार ८४१ घरपरिवारले ४४.३ प्रतिशत एलपी ग्याँस, ०.५ प्रतिशत बिजुली, काठदाउरा ५१ प्रतिशत, गुइँठा/गोहरा २.९ प्रतिशत, बायोग्याँस १.२ प्रतिशत, मट्टीतेल प्रयोगकर्ता ०.०५ प्रतिशत, अन्य इन्धन ०.१ प्रतिशत प्रयोग गर्ने गरेका छन्।