हिमालमा पर्यटकको भीड
2023-04-25 16:10:47CRI
Share with:

८१४७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण तथा फन्को मार्न आएका पर्यटकले बेसक्याम्प भरिभराउ छ । हिमाल जाने पदमार्गका होटल, रेस्टुराँ तथा होमस्टे भने सुनसान छन् । अन्नपूर्ण हिमाल पदमार्गको समस्या पनि उस्तै छ । अहिले सयौं पर्यटक पुगेका छन् । कतारी राजकुमारीसहित दर्जनौं पर्वतारोही अन्नपूर्ण आरोहण गरी फर्के । तर कुनै पनि पर्यटक स्थानीय अन्नपूर्ण गाउँपालिकाले प्रवर्द्धन गरेको मोरिस हर्जोग पदमार्गमा पैदल नहिँडेको खबर कान्तिपुरमा छ।

ट्रेकिङ कम्पनीले पर्वतारोहीलाई पोखरा र उनीहरूका सामग्रीलाई नजिकको नारच्याङबाट हेलिकोप्टरमा बोकेर सोझै बेसक्याम्प ओरालेका हुन् । पदयात्रा गराउनुको साटो हेलिकोप्टरबाट सोझै बेसक्याम्पमा ओराल्न थालेपछि पदमार्गका होटल, होमस्टे र टी–हाउस सुनसान छन् । 

हेलिकोप्टरले पर्यटक र सामग्रीसमेत नजिकको बस्ती ताकमबाट इटाली क्याम्पसम्म बोक्ने गरेको स्थानीय बताउँछन् । धौलागिरि पदमार्गमा पछिल्ला केही वर्षदेखि मुदी, खाम्ला, नाउरा, बगरा तथा दोभानवासीले आधारभूत पूर्वाधारसहित होमस्टे, टी–हाउस र रेस्टुराँ सुरु गरेका थिए । आफ्नै छुट्टै खाना पकाउने, बस्ने र सुत्नेसम्मका व्यवस्थासहित (क्याम्प ट्रेक) मात्र पर्यटक आउने सक्ने धौलागिरि पदमार्ग सहज भएपछि स्थानीय व्यवसायी आशावादी थिए । बस्तीका परम्परागत घरलाई सुधार गर्दै ससाना पाहुना कोठा थपेर ‘होमस्टे’ का बोर्ड झुन्ड्याउन थालेका उनीहरूलाई ट्रेकिङ कम्पनीका कारण निराश तुल्याएको छ । 

धौलागिरि हिमालय रेन्जमा धौलागिरि प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैटौं, सीता चुचुरो, मानापाथी, मुकुट रटुक्चे पिक छन् । धौलागिरि प्रथम संसारको सातौं र नेपालको छैटौं अग्लो हिमाल हो । धौलागिरि आरोहण तथा फन्को लगाएर मुस्ताङको मार्फा निक्लने साहसिक पर्यटकका लागि धौलागिरि पदमार्ग प्रख्यात छ । यो हिमशृंखला हिममानव (यती) पाइने क्षेत्रका रूपमा पनि परिचित छ ।