चीनका लागि नेपाली राजदूत श्रेष्ठद्वारा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ समक्ष ओहदाको प्रमाणपत्र पेश
2023-04-25 16:00:42CRI
Share with:

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनुभएको छ। गत अगष्टमा चीन आएर बेइजिङस्थित राजदूतावासमा कार्यरत राजदूत श्रेष्ठले सोमबार ग्रेट हल अफ द पिपुल्समा आयोजित समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङ समक्ष ओहदाको प्रमाणपत्र बुझाउनुभएको हो। राजदूत श्रेष्ठसँगै विभिन्न देशका अरू ७२ जनाले पनि यस्तो प्रमाणपत्र बुझाए। 

कोभिडका कारण सन् २०२१ अप्रिल यता यो समारोह ढिलो गरी आयोजित भएको हो । यो ढिलाइका कारण राजदूत श्रेष्ठले ८ महिनापछि र अन्य कतिपय देशका राजदूतले दुई/तीन वर्षपछि यस्तो प्रमाणपत्र बुझाउने अवसर पाएका छन्। चीनमा वर्षमा २ पटक मार्च-अप्रिल र सेप्टेम्बर-अक्टोबरमा ओहदाको प्रमाणपत्र बुझाउने समारोहको आयोजना गरिन्छ। 

त्यसअघि कुनै पनि राजदूतले चीनमा उत्रिने बित्तिकै परराष्ट्र मन्त्रालयको प्रोटोकल विभागमा प्रतिलिपि बुझाएपछि आफ्ना कामहरू सुचारू रुपमा गर्न पाउँछ। प्रमाणपत्र ग्रहण गरेपछि चिनियाँ राष्ट्रपति सीले चीनमा आएर काम गर्नका लागि स्वागत गरेको राजदूत श्रेष्ठले बताउनुभयो।

यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वसँगको हातेमालोका लागि चीनले ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई), ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसियटिभ (जीसीआई) लाई अगाडि सारेको बताउनुभएको छ। सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा ओहदाको प्रमाणपत्र बुझाउन भेला भएका विभिन्न देशका राजदूतहरूलाई सम्बोधन गर्दै राष्ट्रपति सीले भन्नुभयो, ‘मानव जातिसमक्ष एकपछि अर्को चुनौती देखापरेका छन्। एक्लैले यस्ता समस्या पार लगाउन सकिन्न, त्यसैकारण चीनले जीडीआई, जीएसआई र जीसीआईको अवधारणा अघि सारेको हो ।’

सम्बोधनका क्रममा सीले सम्बन्धित देशका राजदूतहरूमार्फत् सरकार र जनताप्रति अभिवादन प्रकट गर्दै कोभिडका कारण ओहदाको प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम आयोजना गर्न ढिलाइ भएको बताउनुभयो।

राजदूत श्रेष्ठका अनुसार सीले कोभिड अवधिमा चीनले जनताको जीवनलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिनुभयो र बाह्य मुलुकले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो। 

कान्तिपुर अनलाइनका अनुसार चीनले २०औं राष्ट्रिय जनकांग्रेस, चीनका २ अधिवेशनलगायत सम्पन्न गरेको सुनाउँदै सीले चीनको पुनः उत्थान तथा अत्याधुनिक मुलुक बनाउने कुरालाई पारित गरिएको बताउनुभयो। पाँच हजार वर्ष पुरानो चिनियाँ सभ्यताको अध्ययन गर्न स्वागत गर्दै राष्ट्रपति सीले कुनै पनि समस्या भएमा नहिच्किचाइकन भन्न पनि राजदूतहरूलाई सुझाउनुभयो।