नेपाल-तिब्बत टिप्ताला नाका खुलाउन पहल, प्रशासन प्रमुख तथा सुरक्षा निकायबीच भर्चुअल बैठक
2023-04-26 15:52:58CRI
Share with:

झन्डै चार वर्षदेखि बन्द ओलाङचुङगोला टिप्ताला भन्ज्याङ नाका खुलाउन सीमावर्ती क्षेत्रका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीले आआफ्नो क्षेत्रबाट पहल गर्ने सहमति गरेका छन् । सीमावर्ती क्षेत्र ताप्लेजुङ र चीनको डिङजे काउन्टीका जनप्रतिनिधि तथा प्रशासन प्रमुखसहितले सोमबार दुई घण्टा भर्चुअल बैठक गरेका थिए । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले दुवै क्षेत्रबाट आफ्नो देशको माथिल्लो निकायमा यो विषयमा पहल गर्ने विषयमा छलफल भएको बताउनुभयो।‘नाका बन्द हुँदा सीमावर्ती जनजीवनमा परेको समस्याबारे कुरा राख्यौं,’ उहाँले भन्नुभयो, ‘उहाँहरूले दुवैतर्फबाट कूटनीतिक ढंगले प्रक्रिया बढाऔं भन्ने कुरा राख्नुभएको छ ।’ नाका खुलाउनेसँगै सीमावर्ती क्षेत्रको विकासमा कसरी सहयोग गर्न सकिन्छ भनेर पनि चीनतर्फबाट जिज्ञासा राखिएको चेम्जोङले बताउनुभयो ।

बैठकका लागि फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । बैठकमा द्विदेशीय सिमाना टिप्ताला भन्ज्याङदेखि ओलाङचुङगोलासम्मको सडक निर्माणका लागि सहयोग गर्ने, यही मार्गमा दुइटा मोटरेबल पुल बनाउने लगायतका विषयमा पनि संवाद भएको छेतेनले बताए । ‘कोरोना महाकारीअघि डिङजे काउन्टीले नेपाली एक अर्ब रुपैयाँ बाटो निर्माणका लागि छुट्याएको थियो,’ उनले भने, ‘अहिले कोरोना संक्रमण कम भएकाले त्यो बजेट कार्यान्वयन गर्नुहोस् भनेर प्रस्ताव गरेका हौं ।’

महामारीका बेला डिङजे काउन्टीले सीमावर्ती क्षेत्रवासीलाई खाद्यान्नलगायत सहयोग गरेको थियो । ‘अहिले पनि सहयोगका विषयमा बोलेका छन्,’ छेतेनले भन्नुभयो, ‘हामीलाई सहयोग होइन, अब नाका खोलिदेऊ, व्यवसाय बढेपछि सहयोग आवश्यक पर्दैन भनेका हौं ।’ यसअघि गाउँपालिका प्रमुखलगायतको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर नाका खोल्न पहल गरिदिन लिखितै अनुरोध गरेका थिए। ‘भर्चुअल बैठकमा चीन पक्ष सकारात्मक छ,’ समन्वय प्रमुख लामाले भन्नुभएको कान्तिपुर अनलाइनले जनाएको छ।