कामका लागि युरोप जाने युवाको सङ्ख्या बढ्दो
2023-04-26 15:59:38CRI
Share with:

श्रम स्वीकृति लिएर कामका लागि युरोप जानेको संख्या बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार गएको चैत महिनामा रोमानियाका लागि एक हजार ४७५ जनाले श्रम स्वीकृति लिएका छन् । रोमानियामा पाँच वर्ष काम गरेपछि आप्रवासी श्रमिकले ‘पीआर’ पाउँछन् । पीआर पाएपछि परिवार लैजान सकिन्छ। आधारभूत अङ्ग्रेजी भाषा जान्नेका लागि रोमानियामा काम गर्न धेरै सहज हुने अनुभव छ। 

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर पनि क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता थुप्रै युरोपेली मुलुकमा जाने गरेका छन्। तथ्याङ्कअनुसार गत फागुनमा वैदेशिक रोजगारमा ६१ हजार ४७४ जना गएको देखिन्छ। 

गत आर्थिक वर्ष क्रोएसियाका लागि पाँच हजार ३४४ जनाले श्रम स्वीकृति लिएका थिए। साइप्रसका लागि चार हजार १८१, फ्रान्सका लागि १६४, माल्टाका लागि एक हजार ९१५, पोल्यान्डका लागि एक हजार ८५५ र रोमानियाका लागि सात हजार ४७५ जनाले श्रम स्वीकृति लिएका थिए । गत वर्ष कुल छ लाख ३० हजारले श्रम स्वीकृति लिएका थिए।

कोभिड महामारीपछि नेपाली रोजगारीका लागि युरोप जाने क्रम बढेको देखिन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजन पोखरेलले युरोपमा नेपाली श्रमिकका लागि राम्रो अवसर भएको बताउनुुभयो । उहाँले पछिल्लो समय युरोपेली देशबाट २० हजार कामदारको माग आएको तर युरोपका सबै देशमा दूतावासमा नभएको हुँदा माग प्रमाणीकरण गरेर पठाउनका लागि अहिलेको अवस्थामा समस्या भएको बताउनुभयो । प्रमाणीकरणलाई सहज बनाउनका लागि निर्देशिका तयार गरेर कानुन मन्त्रालयको राय लिएर परराष्ट्र मन्त्रालयमा पठाइएको आउनेबित्तिकै मन्त्रीपरिषद्मा पठाउने सहसचिव पोखरेलको भनाइ छ । उहाँका अनुसार पछिल्लो पटक युरोपमा आकर्षक तलबमा दक्ष श्रमिकको राम्रो माग छ । पारिश्रमिक र सेवासुविधा पनि राम्रो छ । मुलुकमा भित्रिने विप्रेषण पनि बढ्छ, गोरखापत्र अनलाइनमा खबर छ।