नेपालमा विद्युतीय गाडी बढ्दै, चार्जिङ स्टेसनको माग
2023-04-27 16:23:56CRI
Share with:

नेपालमा विद्युतीय गाडीअनुसार चार्जिङ स्टेसन बढ्नसकेका छैन। सरकारले विद्युतीय गाडीलाई प्रवर्द्धन गरे पनि चार्जिङ स्टेसन नबन्दा सर्वसाधारणले दुःख पाउनथालेका हुन्।

सरकारसँगै अटो व्यवसायीले विद्युतीय गाडी भित्र्याउन प्रतिस्पर्धा गरे पनि चार्जिङ स्टेसन न्यून छन्। घरमै चार्ज गर्दा निश्चित दूरीको लागि सहज भए पनि लामो दूरीमा कुदाउनेलाई समस्या पर्न थालेको छ। सर्वसाधारणले पेट्रोल डिजेलका जस्तै सहजै गाडी खरिद गर्न थाले पनि पूर्वाधार बन्नसकेको छैन। ठाउँ–ठाउँमा फास्ट चार्जिङ स्टेसन नहुँदा लामो समय कुर्नुपर्ने अवस्था देखिएको छ। नेपाली सडकमा हजारौँ विद्युतीय निजी सवारीसाधनसँगै सार्वजनिक यातायात बस र ट्याक्सी समेत गुड्नथालेका छन्।

सार्वजनिक यातायात चलाउनेले समेत आफैँ चार्जिङ स्टेसन राखेका छन्। सरकारको बहुमत सेयर रहेको साझा यातायात, सुन्दर यातायातले विद्युतीय बस सञ्चालन गरिरहेका छन्। त्यसबाहेक बागमती प्रदेशले विद्युतीय ट्याक्सी खुल्ला गरेसँगै दर्ता हुनथालेका छन्।

साझा यातायातले चार्जिङ स्टेसन नहुँदा नेपाल भित्र्याएका ४० मध्ये ३७ बस कुदाउनसकेको छैन। विद्युतीय सवारी सहर बाहिर कुदाएर जानेले चार्जिङ स्टेसन नहुँदा समस्या भोगेको सामाजिक सञ्जालमा आक्रोश पोख्ने गरेका छन्।

साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितले चार्जिङ डिपो राख्ने ठाउँ नहुँदा विद्युतीय बस सञ्चालन गर्न नसकेको बताउनुभयो। काठमाडौं–सिन्धुली रुटमा विद्युतीय माइक्रो बस चल्दै आएका छन्। दिगो ग्रुपले मुलकोटमा एउटा चार्जिङ स्टेसन बनाएको छ। अरु विकल्प भने छैन। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापाले सरकारको तर्फबाट चार्जिङ स्टेसन बनाउन कुनै सहयोग नभएको बताउनुभयो। उहाँले विद्युत् प्राधिकरणले ५० वटा चार्जिङ स्टेसन राख्ने भने पनि अहिलेसम्म नराखेको बताउनुभयो। सर्वोच्च अदालतले समेत विद्युतीय सवारीसाधनको प्रयोगलाई सहज बनाउन चार्जिङ स्टेसन पर्याप्त मात्रामा बनाउन सरकारको नाममा परमादेश जारी गरेको छ। यसैबीच ९ महिनामै साढे २४ सय विद्युतीय गाडी थपिएका छन्। साउनदेखि चैतसम्म २४ सय ५१ वटा गाडी भित्रिएको नेपालखबर अनलाइनले जनाएको छ।