चीनमा नेपाली चिया निर्यातको प्रक्रिया अगाडि बढ्दै
2023-04-27 16:06:23CRI
Share with:

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चीनको बेइजिङस्थित नेपाली दूतावासमार्फत चीनमा नेपाली चिया निर्यातका लागि प्रक्रिया अगाडि बढाएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चीनमा चिया निर्यातका लागि आवश्यक डकुमेन्ट पेस गरेर प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । 

बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली चियाको गुणस्तरमा उत्कृष्ट देखिएपछि चिनियाँ व्यापारी आकर्षित भएकाले निर्यातका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । गत असोज ४–५ गते (२०२२ सेप्टेम्बर २०–२१) चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट देखिपछि चिया निर्यातको सम्भावना बढेको उहाँको भनाई छ।

चिनियाँ व्यापारी नेपाली चिया लैजानका लागि उत्सुक रहेको उहाँको भनाइ छ । चिया निर्यातका लागि व्यवसायी टु व्यवसायी सम्झौता गर्न लागिएको भट्टराईले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय बजारमा चियाको माग बढ्दै गएकाले निर्यात बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने भन्दै यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने उहाँको भनाइ छ। गोरखा टी स्टेट प्राइभेट लिमिटेडका अध्यक्ष उदय चापागाईंले चीनमा चिया निर्यात गर्नका लागि व्यवसायी इच्छुक रहेको जानकारी दिनुभयो। नेपाली चिया चीनमा निर्यात हुन थालेपछि नेपालले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्ने उहाँको भनाइ छ। 

चीन, रुस, अमेरिका, युरोपेली मुलुकका नेपाली कूटनीतिक नियोगमार्फत नेपाली चियाको ब्रान्ड प्रवद्र्धन गर्न सके हाल वार्षिक रूपमा चार अर्बको निर्यातबाट बढाएर १० देखि १२ अर्ब रुपियाँको निर्यात गर्न सकिने बोर्डले जनाएको छ। बढ्दो व्यापार घाटा कम गर्न चियाको गुणस्तरीय उत्पादनमा वृद्धि गरी निर्यात गर्नुपर्ने व्यवसायीको भनाइ रहेको गोरखापत्र अनलाइनमा खबर छ।

छिमेकी मुलुकहरू भारत, श्रीलङ्कालगायतले चियामा भ्यालु एड गरी प्रतिस्पर्धी बजारमा आफ्नो स्थान सुरक्षित गरिरहेका छन् र नेपालले पनि आमउपभोक्ताको मागअनुसार सङ्ख्यात्मक उत्पादनमा मात्रै नभएर तयारी चियाको विशिष्टीकृत गुणस्तरमा ध्यान दिन अति जरुरी रहेको विज्ञहरूको भनाइ छ । नेपालमै पनि चियाको आन्तरिक खपत अन्य छिमेकी मुलुकको तुलनामा अति नै न्यून रहेकाले आन्तरिक बजार प्रवद्र्धन गर्नुपर्ने व्यवसायीको भनाइ छ।

खुला बजार नीतिअनुरूप दीर्घकालीन समस्या समाधानका लागि चीन, रुस, अमेरिका, ईयूका राष्ट्रहरूसँग सम्झौता गरी त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगमार्फत नेपाली चियाको ब्रान्ड प्रवद्र्धन गर्नुपर्ने विज्ञहरूको भनाइ छ । नेपालमा उत्पादित अर्थाेडक्स चियाको बजार प्रवद्र्धनका लागि ट्रेडमार्क कार्यान्वयनमा ल्याई २९ वटा उद्योगले ट्रेडमार्क प्राप्त गर्न सफल भएको बोर्डले जनाएको छ । 

चीनमा निर्यातको ठूलो सम्भावना बढेको नेपाली चिया हालसम्म भारत, क्यानडा, भारत, जर्मनी, जापान, कतार, इटाली, ताइवान, अस्टे«लिया, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, फ्रान्स, हङकङ, नर्वे, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ ।

बिहीबार विभिन्न कार्यक्रम गरेर चौथो अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चिया महोत्सव मनाउन लागेको हो।