वैशाख १८ बाट निर्यात खुल्ने सहमतिअनुरूप तातोपानी नाकाबाट निर्यातको प्रतीक्षा
2023-04-28 15:31:03CRI
Share with:

यही वैशाख १८ बाट नाकाबाट निर्यात खुल्ने सहमतिअनुरूप तिब्बती क्षेत्रमा तयारी तीव्र पारिएको छ। तर नेपालपट्टि भने पूर्वाधारको अभाव छ। कान्तिपुर अनलाइनका अनुसार

चीनले मितेरी पुल उताका भौतिक संरचना अध्यागमन भवन, झाङ्मु पोर्ट, पार्क र अत्याधुनिक नापतौल मेसिन राख्ने काम बनाइसक्दै छ।

भूकम्पको चार वर्षपछि खुलेको तातोपानी नाकामा चीनका दुई कम्पनी ताइन सुन र सीआरसीसीले सडक, बन्दरगाहदेखि मितेरी पुलसम्म बनाइदिएको भोटेकोशी–२ का अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो । ‘नाका खोल्न चीनकै भर पर्दा यस्तो भूगोलको अवस्था देखिएको हो, गर्ने पनि के ? पुनर्निर्माण गर्न गाउँपालिकासँग पर्याप्त बजेट छैन, सरकारलाई नाका खोल्नेकै हुटहुटी मात्रै छ, यहाँको भूगोल र सीमावासीको चिन्ता फिटिक्क छैन,’ उहाँले भन्नुभयो।

नाकाबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउलगायत १ सय ८२ प्रकारका सामग्री निर्यात खुल्ने सहमति भए पनि तातोपानीमा भौतिक पूर्वाधार भने खासै तयारी नदेखिँदा सीमामा यति बेला चहलपहल छैन । सीमा जोड्ने कोदारी राजमार्ग (२६ किमि) अझै क्षतिग्रस्त हुँदा कन्टेनरलाई धराप थापे झैं अवस्था छ । पहिरोले धाँजा फटाएर भासिँदै लगेपछि कोदारी गाउँ क्षेत्रका स्थानीय त्रासमा छन् । बर्खापछि बिजुली आउनेजाने भइरहने र टावरले पनि काम नगर्ने भएपछि नेटवर्क खोज्दै स्थानीय १० किमि परको तातोपानी बजार क्षेत्र पुग्नुपर्ने समस्या छ । यस क्षेत्रमा नेटवर्कको समस्याले सीमा सुरक्षा र स्थानीयले सास्ती भोग्नुपरेको इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जनाउनुभयो। ‘थोरै पानी र चट्याङ परे बिजुली र नेटवर्क गायब हुन्छ, फोन लाग्दैन, सुरक्षा अपडेट गर्न सकिन्न, विपद् र उद्धारमा यसले पार्ने समस्या अहिलेबाटै अनुमान गर्न सकिन्छ,’ उहाँले भन्नुभयो। गत फागुन ४ र चैत ६ मा नेपालबाट जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको थियो।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने भन्नुभयो, ‘भौतिक संरचनाबीच चीन नाका खोल्न सकारात्मक छ, तर यहाँको भूगोलका आफ्नै समस्या पनि छन्, समाधानका लागि माथिल्लो तहमा पहलकदमी भइरहेका छन्। त्यतिखेर मितेरी पुल र खासाकै भवनमा सीमा सुरक्षाको विषयमा ‘काउन्टर पार्ट मिटिङ’ बस्दा चीन पक्ष नाका खोल्न सकारात्मक देखिएर सल्लाहसुझाव मागेको थियो । 

चैत १५ मा जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको संयन्त्रको बैठकमा उत्तरी नाका रसुवागढी र तातोपानी पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको थियो । वैशाख ४ मा नेपाल र चीनका सरकारी अधिकारीबीच निर्यात मात्रै खोल्नेसहित ६ बुँदे मौखिक सहमति भयो । त्यसपछि केही समयमै उत्तरी केरुङ नाका पूर्ण रूपमा सञ्चालनमा आइरहँदा चैत २८ मा भौतिक पूर्वाधार निर्माणमा नापतौल काँटा राखिने भन्दै एक साताका लागि तातोपानी चीनले बन्द गर्‍यो । केरुङ पूर्ण रूपमा खुलिरहँदा तातोपानीबाट निर्यात मात्रै खुल्ने मौखिक सहमति भएपछि यहाँका स्थानीय रुष्ट र निराश छन् । ‘राजधानी काठमाडौंबाट चीनको व्यापारिक क्षेत्र खासा १ सय २४ किमि र रसुवागढी नाकाबाट १ सय ६४ किमि दूरीमा पर्छ, केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किमि कम दूरी पर्छ, तर सरकारको गैरजिम्मेवारीकै कारणले चीनले यो नाकालाई हेलामा राखेको देखिन्छ,’ स्थानीय अगुवा व्यवसायी दोर्जे लामाले भन्नुभयो। उहाँका अनुसार चीनको जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री भए पनि खासाबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिन लाग्छ । 

यसअघि दिनको पाँच कन्टेनर सामान आयात हुँदै आएकामा हिजोआज १० कन्टेनर सामान भित्रिन थालेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानिधि केसीले जनाउनुभयो। भन्सार यार्डमा क्यु सिस्टममा ६ सयभन्दा बढी मजदुर सामान लोडअनलोड गर्छन् । चालु आर्थिक वर्षमा चार अर्ब ६२ करोड भन्सार राजस्व संकलनको लक्ष्य लिइएकामा आहिलेसम्म २ अर्ब २० करोड उठेको केसीले बताउनुभयो।