आज राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस मनाइँदै, कार्यवाहक राष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना
2023-04-29 16:19:43CRI
Share with:

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवम् जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ।

त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवम् पुराणमा वर्णन गरिएको छ। सीता उत्पत्ति हुनुभएको भए पनि आजको दिनलाई सीता जयन्तीका रूपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ।

यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ। सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान दिएको छ। सीतालाई सत्यवती, पतिव्रता एवम् आदर्श नारीका रूपमा सम्मान गरिन्छ।

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पुत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताउनुभएको छ। सीता जयन्तीका अवसरमा आज शुभकामना दिँदै उहाँले माता सीतालाई धैर्य, सहनशीलता र उदारताकी प्रतिमूर्तिका रूपमा लिइने जनाउनुभएको छ।

उहाँले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत सीतालाई श्रद्धा गरिने उल्लेख गर्नुभएको छ। यस अवसरमा लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भनी उहाँले कामना गर्नुभएको छ।

कार्यवाहक राष्ट्रपति यादवले यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामना गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।