भारत र टर्कीबाहेक सबै देशमा निर्यात वृद्धि
2023-04-30 15:48:07CRI
Share with:

चालु आर्थिक वर्षको नौ महिनामा निकासी व्यापारमा गिरावट आए पनि द्विपक्षीय व्यापारमा भने भारत र टर्कीबाहेक अन्य सबैजसो मुलुकतर्फको निकासीमा सुधार देखिएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार यो वर्ष चैतसम्म भारततर्फ सबैभन्दा बढी ३५ प्रतिशत तथा टर्कीतर्फ ४८.१ प्रतिशतले निकासीमा गिरावट आएको छ । यसबाहेक अन्य सबैजसो मुलुकमा हुने निकासी बढेको छ । 

नेपालको निर्यात व्यापारमा महत्वपूर्ण हिस्सा राख्ने अन्य मुलुकहरुमा अमेरिका, जर्मनी, बेलायत, टर्की, क्यानडा, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, नेदरल्याण्ड, डेनमार्क र चीन प्रमुख छन् । निर्याततर्फ दोस्रो स्थानमा रहेको अमेरिकातर्फको निकासी यो अवधिमा ८.३ प्रतिशतले बढेको भएको छ । यस्तै, जर्मनी र बेलायततर्फ ४.४ प्रतिशतले वृद्धि भएको कारोबार अनलाइनमा खबर छ। 

सबैभन्दा बढी सिंगापुरतर्फ २५८.८ प्रतिशतले वृद्धि भएको छ भने क्यानडामा ७७.५ प्रतिशतले निर्यात बढेको छ। यस्तै, अष्ट्रेलियामा ३६.४ प्रतिशत र जापानमा ३३.५ प्रतिशतले निकासी बढेको छ। उत्तरी छिमेकी चीनतर्फ पनि २.२ प्रतिशतले निकासीमा वृद्धि भएको छ। नेपालको दोस्रो व्यापारिक साझेदार मुलुक चीनमा नेपालले चैतसम्म ६४ करोडको निकासी गरेको छ। यो वर्ष कुल निकासीमा गिरावट आएको अवस्थामा मुलुकहरुतर्फ बढेको निर्यातलाई सन्तोषजनक मान्नुपर्छ। यसले निर्यातलाई भारतबाहेक अन्य मुलुकहरुमा पनि विविधीकरण गर्नुपर्ने देखाएको छ।

गत वर्ष उच्च रुपमा बढेको वैदेशिक व्यापारमा चालु वर्षको सुरुवातदेखि कमी आएको छ। भारतमा नेपालबाट निकासी हुने सोयाविन र पाम आयलको निर्यातमा धेरै गिरावट आउँदा कुल व्यापारसँगै निकासीमा पनि गिरावट आएको हो । चैतसम्म पाम आयलको निकासीमा ५२.५ प्रतिशतले गिरावट आएको छ भने सोयाविन आयलको निकासीमा ८०.१ प्रतिशतले कमी आएको तथ्यांक छ । यसरी गत वर्षको चैतसम्म भारततर्फ १ खर्ब २७ अर्ब ९० करोडको निकासी भएकोमा चालु वर्षको सोही अवधिमा ८२ अर्ब ९९ करोड रुपैयाँको मात्र निकासी भएको छ ।

केन्द्रका अनुसार गत आवको चैतसम्म टर्कीमा नेपालबाट २ अर्ब ८५ करोड रुपैयाँबराबरको निकासी भएकोमा चालु आवको सोही अवधिमा १ अर्ब ४८ करोड रुपैयाँको निकासी भएको छ । टर्कीमा नेपालबाट मुख्यतया धागो निकासी हुँदै आएको छ । चैतसम्म धागो निकासीमा ६.२ प्रतिशतले कमी आएको छ । यसबाहेक टर्कीमा नेपालबाट गलैंचा, तयारी पोशाक तथा हस्तकलाजन्य वस्तु निकासी हुँदै आए पनि ती वस्तुको हिस्सा भने नगण्य छ। 

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक हो भने टर्की नेपालको २२ औं ठूलो व्यापार साझेदार मुलुक हो । आव २०७८/०७९ मा नेपालले १७४ वटा मुलुकसँग व्यापार गरेको थियो । जसमध्ये टर्कीसँगको व्यापार २२ औं स्थानमा छ । सो वर्ष नेपालले टर्कीबाट ९ अर्ब २४ करोडको वस्तु आयात गरेको थियो । ३ अर्ब ७४ करोडको नेपाली वस्तु टर्की निर्यात भएको तथ्यांक छ । नेपाल टर्की उद्योग वाणिज्य संघका अध्यक्ष अखिलकुमार चापागाईंका अनुसार सरकारको कुनै पहल र प्रयासबिना निजी क्षेत्रले टर्कीसँगको व्यापारिक सम्बन्ध विस्तार गरिरहेको छ भने यसलाई ठूलो परिमाणमा बढाउन सकिने अवस्था पनि छ।

नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७९.६५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा सो हिस्सा ७०.१६ प्रतिशत झरेको छ। केन्द्रका अनुसार पाम आयलको निर्यातमा ५२.५ प्रतिशतले ह्रास आई १७ अर्ब ३० करोडमा झरेको छ । समीक्षा अवधिमा भटमासको तेलको निर्यातमा ८०.५ प्रतिशतले ह्रास आई ८ अर्ब ४३ करोडमा सीमित भएको छ । समीक्षा अवधिमा पोलिष्टर यार्न (धागो) को निर्यातमा ६.२ प्रतिशतले ह्रास आई ८ अर्ब ९० करोडमा झरेको छ । प्रशोधित खाद्य तेलको निर्यातमध्ये पामतेल, भटमासको तेल तथा सूर्यमुखी तेल निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमश १४.६ प्रतिशत, ७.१ र ०.२ प्रतिशत रहेको छ।