निरन्तर उकालो लाग्दै विद्युतीय कारोबारको ग्राफ
2023-04-30 15:46:46CRI
Share with:

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) भित्रिएसँगै बढ्न थालेको विद्युतीय कारोबारको ग्राफ उकालो लाग्ने क्रम जारी छ। कोरोनाका कारण बैङ्कसम्मै पुगेर वित्तीय कारोबार गर्न अप्ठ्यारो परेका कारण पनि बन्दाबन्दीको समयमा विद्युतीय कारोबारमा उल्लेखनीय प्रगति भएको थियो । कोरोनामा बन्दाबन्दीका बेला सर्वसाधारण बैङ्कसम्म पुग्नु त टाढाको कुरा घरबाहिर समेत निस्कन डराइरहेका बेला विद्युतीय कारोबार भने ह्वात्तै बढेको थियो। जसले अहिले पनि निरन्तरता पाइरहेको छ। कोरोनाका बेला चम्किएका क्यूआर, वालेट, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, क्रेडिट कार्ड, डेबिट कार्डलगायतका माध्यमले यतिबेला छलाङ मारिरहेका छन्। यद्यपि आरटीजीएस, कनेक्ट आईपीएस, आईपीएस, इलेक्ट्रोनिक चेक क्लियरिङ, ई–कमर्स, पीओएस भने केही सुस्ताएका छन् ।

गोरखापत्र अनलाइनका अनुसार पछिल्लो समय चिया पसलदेखि तरकारी पसलसम्म लोकप्रिय बनेको क्यूआर कोडमार्फत हुने भुक्तानीको कारोबार एक वर्षमा झन्डै तीन गुणाले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको फागुनमा सात अर्ब ७६ करोड २० लाख रुपियाँ बराबरको कारोबार क्यूआर कोडमार्फत भएकामा चालु आर्थिक वर्षको फागुनसम्ममा झन्डै तीन गुणाले बढी अर्थात् २० अर्ब ७७ करोड ६० लाख रुपियाँ बराबरको कारोबार भएको छ । यसरी हेर्दा एक वर्षमा १३ अर्ब एक करोड ४० लाख रुपियाँले बढेको हो ।

एक वर्षअगाडि २३ लाख सात हजार ९०४ कारोबार सङ्ख्या रहेको क्यूआर कोड एक वर्षमा झन्डै तीन गुणाले वृद्धि अर्थात् ६७ लाख ५० हजार ५९२ पुगेको छ । जब कि माघ महिनामा ५७ लाख ८२ हजार २६५ रहेको थियो । यसरी हेर्दा एक महिनामा नौ लाख ६८ हजार ३१७ कारोबार सङ्ख्या थपिएको छ ।

यसैबीच एक वर्षमै मोबाइल बैङ्किङमार्फत हुने कारोबार झन्डै दुई गुणाले बढेको छ।

यस्तै, वालेटमार्फत हुने कारोबार पनि एक वर्षअगाडि १६ अर्ब ५९ करोड ९० लाख रुपियाँ रहेकामा एक वर्षपछि १८ अर्ब १५ करोड ६० लाख रुपियाँ बराबरको कारोबार भएको छ। यस्तो कारोबार रकम एक वर्षमा एक अर्ब ५५ करोड ७० लाख रुपियाँ बढेको छ भने माघ महिनामा भन्दा एक अर्ब ३८ करोड रुपियाँले बढी हो । माघ महिनामा वालेटमार्फत हुने कारोबार रकम १७ अर्ब ११ करोड ८० लाख रुपियाँ थियो ।

कारोबार सङ्ख्याको हिसाबले हेर्दा पनि गत वर्षको फागुनमा एक करोड ४० लाख ३३ हजार ४९० रहेकामा ठ्याक्कै एक वर्षपछि एक करोड ९७ लाख ८७ हजार २५८ पुगेको छ।

थाहा भएअनुसार, एक वर्षमा एटीएममार्फत हुने कारोबार १२ अर्ब ११ करोड ८० लाख रुपियाँले बढेको छ । अघिल्लो वर्षको फागुनमा ६९ अर्ब ६१ करोड ६० लाख रुपियाँ बराबरको कारोबार एटीएममार्फत भएकामा यो वर्ष फागुनसम्म आइपुग्दा ८१ अर्ब ७३ करोड ४० लाख रुपियाँ बराबरको कारोबार भएको छ । जब कि माघ महिनाको भन्दा चार अर्ब ६९ करोड ३० लाख रुपियाँले बढी हो । गत माघ महिनामा ७७ अर्ब चार करोड १० लाख रुपियाँ बराबरको कारोबार भएको थियो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार डेबिट र क्रेडिट कार्डमार्फत हुने कारोबारमा पनि बढोत्तरी देखिएको छ।

विकसित मुलुकहरूमा आधुनिकीकरण र सुरक्षाका दृष्टिले विद्युतीय भुक्तानीमा आकर्षण बढे पनि नेपालमा भने यसको श्रेय केवल कोरोना भाइरसलाई जान्छ । नेपाल बैङ्कर्स एसोसिएसनका पूर्वअध्यक्ष अनिल शाह भन्नुहुन्छ, “कोभिड भनेपछि चिसो हुन्छौँ, झस्कन्छौँ । कोभिडले त बर्बाद पार्यो भनेर तर त्यस्तो होइन । वित्तीय क्षेत्रमा डिजिटल रिभोलुसन नै ल्याएको हो, अहिले देखिएको वृद्धि पनि त्यसकै श्रेय हो।” बैङ्कहरूलाई डिजिटलमा ग्राहकलाई कसरी जोड्ने भन्ने चुनौती रहेका बेला कोभिडले सहज बनाएको उहाँको भनाइ छ ।

राष्ट्र बैङ्कले शनिबार राजधानीमा ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी–२०८०’ कार्यक्रम आयोजना गरेको छ। विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैङ्कले उक्त प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो। गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहनका निम्ति सरोकारवाला सबै पक्षलाई आह्वान गर्नुभयो। दरबार मार्गबाट सुरु भएको प्रभातफेरी भद्रकाली, शहीदगेट, जमलबाट पुनः दरबार मार्ग हुँदै नारायणहिटी सङ्ग्रहालय, नारायणचौर, प्रहरी नक्साल, भाटभटेनी हुँदै बालुवाटारस्थित बैङ्क परिसरमा पुगेर समापन भएको थियो।