सुधारोन्मुख चिया बजार, वार्षिक १० देखि १२ अर्बको चिया निर्यात गर्न सकिने, व्यवसायीलाई भारतकै डर
2023-04-30 15:50:31CRI
Share with:

नेपाली चिया निर्यातमा भारतले गर्दै आएको अवरोधबीच चियाको बजार सुधारोन्मुख देखिएको छ । उत्पादन र निर्यातको परिमाणमा देखिएको वृद्धिसँगै चिया आयातमा समेत कमी आएको छ । आर्थिक वर्ष ०७८/७९ मा २० हजार २ सय १९ हेक्टरमा चिया खेती भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक छ । उक्त क्षेत्रफलबाट २ करोड ६३ लाख ७९ हजार ४ सय २१ किलो चिया उत्पादन भएको छ । यो परिमाण अघिल्लो वर्षको तुलनामा झन्डै ३ हजार टनले बढी भएको बोर्डले जनाएको छ । 

चालु आर्थिक वर्षमा उत्पादन र निर्यातमा थप वृद्धि हुने बोर्डको आकलन छ । चालु आर्थिक वर्षको ९ महिनासम्ममा २ अर्ब ९८ करोडको चिया निर्यात भएको भन्सार विभागकै तथ्यांक छ । ‘तुलनात्मक रूपमा उत्पादनमा वृद्धि भइरहेको छ । चिया खेती पनि पुरानोभन्दा नयाँ जिल्लामा विस्तार भएर ३० जिल्ला पुगेको छ,’ बोर्डका प्रवक्ता दीपक खनालले भन्नुभयो, ‘१८ जिल्लामा ठूलो स्केलमा उत्पादन हुन्छ, यस वर्ष उत्पादन अझै बढ्ने देखिन्छ । भारतीय पक्षबाट निर्यार्तमा हुने अवरोधबीच पनि निर्यात परिमाण बढेको छ ।’ 

बोर्डका अनुसार अहिले वार्षिक ४ अर्ब रुपैयाँ बराबरको चिया निर्यात हुन्छ । अहिलेकै उत्पादन परिमाण कायम रहे १० देखि १२ अर्ब रुपैयाँ बराबरको चिया निर्यात बढाउन सकिनेछ । ३ वर्षयता चियाको निर्यात परिमाण बढ्दै गएको कान्तिपुर अनलाइनले जनाएको छ ।

आर्थिक वर्ष ०७६/७७ मा १ करोड ११ लाख ८५ हजार १ सय ९८ किलो निर्यात भएको चिया ०७७/७८ मा १ करोड १९ लाख २० हजार ७ सय ३६ किलो पुगेको छ । ०७८/७९ मा आाइपुग्दा निर्यात परिमाण ५ लाख ७३ हजार ५ सय १६ किलो बढेर १ करोड २४ लाख ९४ हजार २ सय ५२ किलो पुगेको बोर्डले जनाएको छ । रकमको तुलनामा भने ०७७/७८ भन्दा ०७८/७९ मा निर्यात घटेको छ ।

०७७/७८ मा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएकामा ०७८/७९ मा ३ अर्ब ४३ करोड रुपैयाँमा सीमित छ । निर्यात रकम घट्नुको मुख्य कारक भने भारतीय पक्षको अवरोध नै हो । नेपाली चियालाई प्रतिबन्ध लगाउन भारतले आयातकर्तामाथि विभिन्न अंकुश लगाउँदै आएको छ । 

‘एकखाले विवादकै कारण नेपाली चिया निर्यातमा रोकावट गर्ने गरिएको छ । भारतीय पक्षकै कारण गत वर्ष करिब ४०/४५ लाख किलो चिया झापाको नाकामा रोकियो,’ खनालले भन्नुभयो, ‘जसोतसो निर्यात खुलायौं, अन्यथा कम मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ । किसानले चिया बिगार्नुभन्दा सस्तोमा बेच्छन्, त्यही भएर रकममा कम देखिएको हो ।’ 

डब्लूटीओ र विभिन्न सन्धि सम्झौताका कारण नेपाली चियामा रोक लगाउन सम्भावना कमै हुन्छ । यद्यपि भारतीय व्यवसायीको चलखेलका कारण समस्या आइरहने गरेको छ । भारतीय पक्षले आफ्नो स्वार्थपूर्ति गर्न निर्यातमा अवरोध गर्दै आएको जानकार बताउँछन् । 

उनीहरूले बहाना भने गुणस्तर नपुगेको बनाउने गरेको चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार अग्रवालको दाबी छ । भारतमा खपतभन्दा ३ सय करोड किलो बढी चिया उत्पादन हुन्छ । त्यही भएर भारतीय पक्षले नेपाली चिया रोक्ने प्रयास गर्दै आएको अध्यक्ष अग्रवालले जनाउनुभयो।

नेपाली चियाको गुणस्तर तुलनात्मक रूपमा उत्कृष्ट भए पनि नेपाली प्रयोगशालाको समस्या देखाएर भारतीय व्यवसायीले अवरोध गर्ने गरेको उहाँले बताउनुभयो। 

‘अरू केही बहाना नभएपछि प्रयोगशालाको विषय उठाएर दुःख दिने गरेका छन् । त्यहाँ बढी उत्पादन हुनेबित्तिकै भारतले नेपाली चिया रोक्ने प्रयास गर्छ,’ अध्यक्ष अग्रवालले भन्नुभयो, ‘त्यही भएर यहाँका किसानले मूल्य पाउँदैनन् ।’

गत वर्षको तुलनामा किसानले पाउने मूल्यमा प्रतिकिलो ५ देखि ७ रुपैयाँ घटेको संघले जनाएको छ । आर्थिक मन्दीकै कारण स्वदेशी बजार मूल्य घटेको पनि अग्रवालको भनाइ छ ।

महँगी बढेकाले उत्पादकलाई समस्या भएको संघको दाबी छ । संघका अनुसार करिब २० वर्षअघि हरियो पत्तीको मूल्य प्रतिकिलो १८ रुपैयाँ थियो । अहिले पनि प्रतिकिलो १८ रुपैयाँ नै छ ।

तर श्रमिकको ज्याला ह्वात्तै बढेको संघले जनाएको छ । ‘एक जना श्रमिकको ज्याला ६० देखि ७० रुपैयाँ थियो, अहिले ४ सय ३५ रुपैयाँ तिर्नुपर्छ । किसानलाई राहत नदिने हो भने छिट्टै उठीबास लाग्ने अवस्था हुन्छ,’ उनले भने । पहाडी क्षेत्रमा उत्पादन बढे पनि तराई क्षेत्रमा घटेको संघले जनाएको छ । 

मुलुकमा मुख्यतः सीटीसी र अर्थोडक्स चिया उत्पादन हुन्छ । सीटीसीको मुख्य बजार भारत हो । नेपालमा उत्पादन हुने ५० प्रतिशत सीटीसी भारत निर्यात हुन्छ । बाँकी परिमाण स्वदेशमै खपत हुन्छ । अर्थोडक्स चिया भने ९० प्रतिशत भारत निर्यात हुने गरेको संघले जनाएको छ । 

बाँकी स्वदेश र चीन, जापान, जर्मनी, अमेरिका, अस्ट्रेलियालगायत मुलुकमा निर्यात हुने गरेको छ । पछिल्लो समय रसिया र खाडी मुलुकमा समेत निर्यात भइरहेको बताइएको छ । तर निर्यात गर्न भारतकै बाटो प्रयोग गर्नुपर्छ । 

यसैबीच चिया आयातको परिमाण र रकम पनि घटेको बोर्डले जनाएको छ । ०७७/७८ मा ३ लाख ४६ हजार ८ सय ६ किलो आयात भएको चिया ०७८/७९ मा घटेर २ लाख ३ हजार ७ सय १३ किलोमा सीमित भएको छ । रकमका हिसाबले १५ करोडको आयात भएकामा घटेर ८ करोडमा झरेको छ ।