आठ वर्षपछि तातोपानी नाकाबाट निर्यात खुल्ला
2023-05-01 16:33:32cri
Share with:

नेपाल–चीनबीचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि चीनतर्फ निर्यात खुलेको छ। प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको जानकारी दिनुभएको छ।

दुवै देशमा मालवाहक कन्टेनर आउजाउ हुन थालेका छन्। चीन र नेपालका सुरक्षा निकायको उपस्थितिमा दुवै देशबाट आयात–निर्यात खुलेको छ। आज मितेरी पुलबाट तीनवटा कन्टेनरबाट चीनतर्फ मुढा, जुट, म्याट्रिक्स र हस्तकलाकाका सामाग्री पठाएर निर्यात खुलाइएको प्रजिअ न्यौपानेले बताउनुभयो।

२०७२ वैशाख १२ गतेको भूकम्पको चार वर्षपछि उक्त नाका २०७६ जेठ १५ देखि आंशिक रूपमा सञ्चालनमा आएको थियो। भूकम्पअघि उक्त नाकाबाट हस्तकलाका सामाग्री, वनस्पति, जडीबुटी, चाउचाउ लगायतका १८२ प्रकारका सामाग्री निर्यात हुँदै आएको गोरखापत्र अनलाइनले लेखेको छ।

तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि गत फागुन ४ गते, चैत ६ गते नेपालबाट जिल्ला प्रशासन कार्यालय, अध्यागमन कार्यालय, जिल्लाका सुरक्षा निकाय, तातोपानी भन्सार कार्यालय र चीनको न्यायालय काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन लगायतका अधिकारी बिच सीमा क्षेत्रमा बैठक भएको थियो। उक्त बैठकमा नाकाबाट हुने अवाञ्छित गतिविधि, आपराधिक गतिविधि लगायतका समस्या हटाउने विषयमा छलफल भएको थियो।

चैत १५ मा जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न नेपाल–चीनको उच्च स्तरीय संयन्त्रको बैठकमा तातोपानी नाका पूर्ण रूपमा खोल्ने सहमति भएको थियो। वैशाख ४ गते सम्पन्न नेपाल–चीनका सरकारी अधिकारीबिच निर्यात खोल्ने सहित ६ बुँदे सहमति भएको थियो। चैत २८ गते चीनले भौतिक निमार्ण पूर्वाधारमा नापतौल काँटा राख्ने भन्दै चीनले एक साताका लागि नाका पूर्ण रूपमा बन्द गरेको थियो। वैशाख १७ गते सम्म खासाबाट दैनिक १० सङ्ख्यामा मालवाहक कन्टेनर नाका भित्रँदै आएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख अधिकृत दयानिधि केसीले बताउनु भएको छ।

चालु आर्थिक वर्षमा चार अर्ब ६२ करोड भन्सार राजश्व सङ्कलन लक्ष्य लिएकोमा हालसम्म दुई अर्ब २० करोड सङ्कलन भएको केसीले बताउनु भएको छ। भूकम्प अघि उक्त नाकाबाट वार्षिक २० अर्बको आयात र दुई अर्बको निर्यात हुने गर्दथ्यो। त्यसबाट राज्यले वार्षिक पाँच अर्ब रुपियाँ राजश्व आम्दानी गर्दथ्यो। चीनको खासाबाट ११४ किलोमिटर दुरीमा काठमाडौँ पुग्न सकिन्छ भने रसुवागढी नाका १६४ किलोमिटर दुरीमा पर्छ।

मितेरी पुल लिपिङदेखि बाह्रबिसे सम्मका २६ किलोमिटर सडक क्षतिग्रस्त छ। भूकम्पपछि चीनको आरसिसी र ताइन सुन निमार्ण कम्पनीले उक्त सडक मर्मत सुधार गरे पनि अहिले उक्त सडक खण्डहर बनिसकेका छन्। भोटेकोसी नदीले उक्त सडकको खण्ड–खण्ड तानेको छ। लिपिङबजार देखि बाह्रबिसे सम्मका भूगोलको अवस्था कमजोर भएका कारण समाधानका लागि माथिल्लो तहमा सम्पर्क भइरहेको प्रजिअ न्यौपानेले बताउनु भयो।