हिमाल आरोहण अनुमतिबाट साढे ७३ करोड रोयल्टी
2023-05-01 16:50:26cri
Share with:

यस वर्षको वसन्तयाममा सगरमाथासहित २४ हिमाल आरोहणका लागि एक हजार ४६ जनाले अनुमति लिएका छन्। विश्वका सर्वोच्च शिखर सगरमाथासहित अन्य २३ हिमाल आरोहणका लागि यो संख्यामा अनुमति जारी भएको पर्यटन विभागले जनाएको छ।

विभागका अनुसार गत बुधबारसम्म ४२ समूहका ३६७ पुरुष ९६ महिलासहित कुल ४ सय ६३ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्। अन्यले विभिन्न २३ हिमाल आरोहणका लागि अनुमति लिएका हुन्। विभागका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणमा यो वर्ष अनुमति लिनेको संख्या उल्लेख्य छ।

उहाँले भन्नुभयो, “सगरमाथा आरोहणका लागि ६५ देशका ४ सय ६३ जनाले आरोहण अनुमति लिएका छन्। यो संख्या अघिल्लो वर्षको भन्दा बढी हो।” गत वर्ष ३ सय ३५ ले अनुमति लिएका थिए। यो वर्ष करिब ४ सय ७० को हाराहारीमा आरोहण अनुमति पुग्ने अनुमान विभागको छ। कुल २३ हिमालको लागि १ सय १४ समूहले आरोहण अनुमति लिएका छन्। जसमा ८ सय ७ पुरुष र २ सय ३९ महिला गरि कुल एक हजार ४६ जना रहेका कारोबार दैनिकले लेखेको छ।

सगरमाथा आरोहणका लागि ६५ देशका आरोहीले आरोहण अनुमति लिएका छन्। सबैभन्दा बढी चीनबाट ९६, अमेरिकाबाट ८७, भारतबाट ४० र रुसबाट २० आरोही रहेका छन्। सगरमाथाका लागि १२ नेपाली आरोहीले समेत आरोहण अनुमति लिएका छन्। सगरमाथा आरोहण टोलीबाट मात्र सरकारलाई ६५ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ। यो सिजनमा २४ हिमालबाट ७३ करोड ५४ लाख ६० हजार ९ सय २३ रुपैयाँ संकलन भएको छ।

जुन हाल सम्मकै उच्च रोयल्टी संकलन भएको शाखा अधिकृत कोइरालाले बताउनुभयो। उहाँले भन्नुभयो,“विगतमा ६० करोडसम्म रोयल्टी जम्मा भएको थियो। तर यो वर्ष ७३ करोड ५४ लाख संकलन भइसकेको छ। थप हुने क्रममा छ।” सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिर्नुपर्छ।

सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको सम्म समूह बनाउन पाउने व्यवस्था रहेको विभागले जनाएको छ। हिमाल आरोहणको लागि अनुमति लिन आउनेको संख्यामा वृद्धि हुँदै गएको छ। अनुमति दिएका आरोहीहरु हिमाल आरोहणको लागि प्रस्थान गर्ने क्रममा रहेका छन्। कोभिड–१९का कारण हिमाल आरोहणमा कमी आएको भए पनि सन् २०२२ देखि आरोहण गर्ने आरोहीको संख्यामा वृद्धि हुने क्रममा रहेको छ र यस वर्ष थप वृद्धि हुने अनुमान गरिएको छ।

गएको वसन्तयाममा विश्वको सर्वोच्च शिखर सगरमाथामा २ सय ४० जनाले आरोहण गरेका थिए। गएको वसन्तयाम सिजनमा सगरमाथाको लागि ३ सस २५ जनाले आरोहण अनुमति लिएकोमा २ सय ४० जनाले आरोहण पूरा गरेको विभागले जनाएको छ।

हाल सगरमाथामा रोप फिक्सिङ (डोरी टाँगेर) बाटो बनाउने काम भैरहेको छ। कोभिड–१९ को त्रास कम भएको र मौसम पनि सुधारोन्मुख देखिँदै गएकाले यो वर्ष आरोहीको संख्यामा उल्लेख्य वृद्धि भएको विभागको भनाइ छ।