एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक फड्को
2023-05-02 17:13:44cri
Share with:

नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ। घरेलु मैदानमा दर्शकको साथमा नेपालले समूह चरण देखिनै अपराजित यात्रा कायम राख्दै उपाधि चुमेको हो। मंगलबार सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरी नेपाली क्रिकेट इतिहासकै ठूलो सफलता हात पार्न पनि सफल भएको छ। यो जितसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा समेत छनोट भएको छ।

प्रिमियर कपको विजेताले एसिया कपमा छनोट हुने प्रावधान रहेको छ। नेपालले पहिलो पटक एसिया कप खेल्ने छ। नेपाल २१ वर्षपछि एसिया कपमा पुगेको हो। यसअघि नेपालले सन् २००२ मा पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो।

त्यतिबेला सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपाल एसिया कपमा पुगेको थियो। तर भारत र पाकिस्तानसँगको आन्तरिक द्वन्द्वका कारण त्यति बेला एसिया कप रद्द भएको थियो। जसले गर्दा नेपालले छनोट भएर पनि खेल्न पाएको थिएन।

त्रिवि मैदान कीर्तिपुरमा लगातार वर्षाका कारण सोमबार बीचमै रोकिएको खेल मंगलबार बिहान पुन: सुरु भएको थियो। सोमबार वर्षा हुनुअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन जोड्दा पानी परेपछि खेल रोकिएको थियो।

मंगलबार सोही ओभरबाट सुरु भएको खेलमा युएईले ३३.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो।

जवाफी ब्याटिङमा आएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको हो। गुलशन झा र भीम सार्कीले अविजित ९६ रनको साझेदारी गरेका थिए। झाले ८४ बलमा ६७ रन र सार्कीले ७२ बलमा ३६ रन बनाएका थिए।