हिल्सा नाका दुईतर्फी खुला
2023-05-02 16:24:28cri
Share with:

चीनसँग जोडिएको व्यापारिक हिल्सा नाका दुईतर्फी सञ्चालनमा आएको छ। सोमबारदेखि सो नाका औपचारिक रूपमा सञ्चालनमा आएको हो। सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका (बीओपी) सशस्त्र प्रहरी निरीक्षक टङ्कप्रसाद सापकोटाले हिल्सा नाका पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

नाका सञ्चालन भएको पहिलो दिन अठार जना नेपाली व्यापारी चीनको पुराङतर्फ (ताक्लाकोट) गएका छन्। अब नियमित रूपमा ताक्लाकोटमा नेपाली व्यापारी र काम गर्न जाने मजदुर जान पाउने भएका छन्।

चिनियाँ पक्षले चीनतर्फ मे ७ बाट मात्र मानिस आउन पाउने भए पनि सामान भने सोमबारबाट ल्याउन सकिने जनाएको छ। ताक्लाकोटमा बर्सेनि दुई हजारभन्दा बढी मजदुर काम गर्न जाने बाटोसमेत खुलेको छ। हिल्साबाट ताक्लाकोट हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकका लागि समेत बाटो खुलेको छ।

नाका बन्द भएको चार वर्षपछि सञ्चालनमा आएको हो। कोरोनाका कारण २०७६ सालदेखि सो नाका बन्द हुँदै आएको थियो। बन्द रहेको नाका गत फागुनमा व्यापारिक सामान ल्याउनका लागि केही समय एकतर्फी रूपमा चिनियाँ पक्षले खुलाएको थियो।