नेपाल-अस्ट्रेलिया उडानको तयारी अन्तिम चरणमा
2023-05-03 16:32:54cri
Share with:

नेपाल र अस्ट्रेलियाबीच व्यावसायिक उडानको तयारी अन्तिम चरणमा पुगेको छ। अस्ट्रेलियास्थित उड्डयन नियमन निकायमा आवश्यक कागजपत्र बुझाइरहेको नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सले अब ल्यान्डिङलगायतका आवश्यक अनुमति पाएको खण्डमा अर्को महिनादेखि उडान सुरु गर्ने भएको छ।

नेपाल एयरलाइन्सले केही महिनाअघि अस्ट्रेलिया उडानका लागि पहल सुरु गरेको थियो। नेपाल एयरलाइन्सका वाणिज्य निकायका निर्देशक टंकनिधि दाहालका अनुसार अस्ट्रेलियाबाट हुने उडानका लागि आवश्यक पर्ने ग्राउन्ड ह्यान्डलिङ, लजिस्टिक, क्याटरिङजस्ता सेवाका लागि टेन्डर खोलिसकिएको र त्यसलाई अन्तिम रूप दिने प्रक्रिया चलिरहेको छ।

‘यदि अस्ट्रेलियाको सिभिल एभिएसन सेफ्टी अथोरिटी (कासा) बाट ल्यान्डिङको अनुमति आएको खण्डमा जुनको पहिलो सातादेखि सिड्नीबाट उडान गर्ने तयारीमा छौँ,’ उहाँले भन्नुभयो।

कासाले मागेअनुसारको आवश्यक कागजपत्र बुझाइरहेको र चाँडै सबै प्रक्रिया पूरा हुने विश्वास रहेको उहाँले व्यक्त गर्नुभयो। सुरुवाती चरणमा वाइडबडी एयरबस ३३० बाट साताको तीनवटा उडान सुरु गर्ने र भविष्यमा हवाई सम्झौतामा उल्लेख भएअनुसार साताको सातवटै उडान गर्ने योजना रहेको पनि जानकारी दिनुभयो।

नेपाल र अस्ट्रेलियाले दोहोरो हवाई उडान सम्झौता गरेको झन्डै चार वर्षपछि नेपाली ध्वजावाहक विमानले औपचारिक रूपमा अस्ट्रेलियाबाट व्यावसायिक उडान गर्न लागेको कान्तिपुर अनलाइनले लेखेको छ।

सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच हवाई उडान सम्झौता गरिएको थियो। उक्त सम्झौताअनुसार यहाँका मुख्य सहर सिड्नी, मेलबर्न, ब्रिसबन र पर्थबाट साताको सातवटा उडान नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गर्न सकिनेछ। त्यसका साथै अस्ट्रेलियाली विमान सेवाले नेपालको त्रिभुवन विमानस्थलमा साताको सातवटा र अन्य विमानस्थलमा साताको २८ वटा उडान गर्न सक्नेछन्।

नेपाल एयरलाइन्सका विभिन्न विभागले अस्ट्रेलिया उडानका लागि आवश्यक काम आन्तरिक रूपमा गरिरहेको जनाएको छ। दाहालले जुन १ तारिखमा उडान गर्न सरकारी निकायमा प्रस्ताव गरिएको जानकारी दिँदै योजनाअनुसार नै उडान सुरु हुने विश्वास व्यक्त गर्नुभएको छ।

नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भएपछि यहाँस्थित दूतावासले केही एयरलाइन्सलाई नेपालमा उडानका लागि आग्रह गरेको भए पनि उनीहरूले चासो देखाएका थिएनन्। नेपाल एयरलाइन्सले चासो देखाएपछि दूतावासले आफ्नोतर्फबाट आवश्यक प्रक्रियामा सहयोग गरिरहेको जनाएको छ। अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले नेपाल सरकारका तर्फबाट दूतावासले समन्वय र सहयोग गरिरहेको बताउनुभयो।

अन्य राज्यबाट समेत कनेक्टिङ फ्लाइट सिड्नीका साथै अन्य विभिन्न ३ वटा ठूला विमानस्थलबाट उडान गर्न पाउने अधिकार भए पनि तत्कालका लागि सिड्नीबाट मात्र उडान गर्ने योजना एयरलाइन्सको छ।

तर, अस्ट्रेलियाका अन्य सहरमा रहेका नेपालीको सहजताका लागि स्थानीय विमान सेवा कम्पनीसँग सहकार्य गरेर कनेक्टिङ फ्लाइटमार्फत सेवा दिइने निर्देशक दाहालले बताउनुभयो।

नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई उडान अन्तिम चरणमा पुगेपछि अस्ट्रेलियामा रहेका झन्डै २ लाख नेपाली खुसी भएका छन्।