बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा
2023-05-04 16:14:37cri
Share with:

२५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पूरा भएको छ। मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख २२ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।

कार्यक्रमबारे लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको छ। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह मनाउने कार्यक्रम रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

यस वर्षको बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष समारोहसाथ मनाउन मूल आयोजक समिति, त्यस अन्तर्गत मूल व्यवस्थापन समिति र विभिन्न उप–समितिहरू गठन गरी तयारी गरिएको सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो। कार्यक्रमका लागि एक करोड रुपियाँ छुट्टयाइएको उहाँको भनाइ छ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराईका अनुसार वैशाख १९ गते देवदहमा देवदह सुत्त र तीन बौद्ध नारी विभूति परिचर्चा प्रवचन कार्यक्रमको आयोजना भइसकेको छ भने वैशाख २१ गते बिहान दीप प्रज्वलन, महापरित्राण, २२ गते बुद्ध पूर्णिमाको दिन बिहान पूजापाठ, शोभायात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना हुनेछ। 

त्यस्तै, वैशाख २२ गते पण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा, २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्त्व सिद्धार्थको शोभायात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने भट्टराईले बताउनुभयो। बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसलाई विगतमानजस्तै गरी महत्त्वपूर्ण उत्सवका रूपमा मनाउने कोषको भनाइ छ।

लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख डा. हरिध्वज राईले गत वर्षभन्दा यस वर्ष ५१.८६ प्रतिशतले लुम्बिनी आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो। लुम्बिनीमा गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बुद्धजयन्ती भव्य रूपमा मनाइएको थियो।