बन्दीले बनाएका मुढा चीनतर्फ
2023-05-04 16:13:33cri
Share with:

मकवानपुको भीमफेदी कारागारका कैदीबन्दीले बाँसबाट बनाएका मुढा चीन निर्यात हुन थालेको छ। विश्वव्यापी कोरोना संक्रमण फैलिँदा बन्द रहेको रसुवागढी नाका खुलेसँगै कैदीबन्दीले बनाएका मुढाले पनि चीनमा नयाँ बजार पाएको हो।

रसुवागढी नाका हुँदै कैदीबन्दीले बनाएका १० हजार ८० थान बाँसका मुढा चीनतर्फ निर्यात भएको भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलले बताउनुभएको छ। उहाँका अनुसार कारागारबाट ४ लाख ३२ हजार रुपैयाँबराबरको ७ ट्रक मुढा चीनमा निर्यात भएको छ। ‘बाँसका मुढा सस्तो र बलियो हुने भएकाले चीनमा माग बढी छ’, उहाँले भन्नुभयो।

दुईवटा ब्लकमा रहेका चार सयभन्दा बढी कैदीबन्दीले दिनहुँ मुढा बनाउने भएकाले मासिक २६ सयभन्दा बढी मुढा उत्पादन हुने गरेको अन्नपूर्णपोस्टले लेखेको छ।

निर्यात रोकिँदा कैदीबन्दीका उत्पादन कारागारमै थन्काएर राख्नु परेको अवस्थामा अहिले निर्यात खुलेपछि तिब्बतबाट माग आउन थालेको उहाँले बताउनुभयो।

कारागारमा रहेका करिब एक हजार कैदीबन्दीमध्ये चार सय कैदीबन्दीले मुढा बनाउन गर्छन्। कैदीबन्दीले हातबाट बनाएका मुढा व्यापारीहरू संकलन गर्न कारागार नै पुग्ने गरेका छन्। बाँसबाट बनाइएका मुढाहरू सस्तो र बलियो हुने भएकाले चीनको ल्हासा, सिगाचे, न्यालम र धिग्रीबाट माग धेरै आउने गरेको छ। चिनियाँले चाडपर्वको समयमा पाहुनालाई मुढा तथा हस्तकलाका सामग्री उपहार दिने गरेका छन्।