‘शिशु बुद्ध’लाई लुम्बिनीबाट तिलौराकोट लगियो
2023-05-06 16:19:47cri
Share with:

सिद्धार्थ गौतमकी आमा मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्धलाई शोभायात्रासहित कपिलवस्तुको तिलौराकोट लगिएको छ।

 

सिद्वार्थ गौतमलाई बुद्ध पूर्णिमाको अर्को दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलबस्तु लगिएको थियो। त्यही दिनको प्रतिकका रूपमा शनिबार लुम्बिनीबाट बोधिसत्व सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो।

 

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई शिशु बुद्व (बोधिसत्व सिद्वार्थ) को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाउनुभएको हो।

 

बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्वलाई गृहनगर तिलौराकोट फर्कदाको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्वको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभएको अनलाइनखबरले लेखेको छ।

 

२५६७ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषले तीन दिने कार्यक्रम अन्तर्गत शनिबार शिशु बुद्धको शोभायात्रासंगै बुद्ध जयन्ती समापन भएको जनाएको छ।