९ महिनामा नेपालकोमा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता
2023-05-07 15:59:36cri
Share with:

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालका विभिन्न क्षेत्रका उद्योगधन्दामा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार गत साउनदेखि चैत महिनासम्मको अवधिमा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता आएको हो। यो प्रतिबद्धता स्वदेशी तथा विदेशी लगानीकर्ताबाट संयुक्त रूपमा आएको हो।

उद्योग विभागमा साउनदेखि चैतसम्मको ९ महिनाको अवधिमा २ सय १६ वटा नयाँ उद्योग दर्ता भएका छन्। ती दर्ता भएका उद्योगले १६ हजार ३ सय ६० रोजगारी सिर्जना गर्ने बताइएको छ। पछिल्लो चैत महिनामा मात्रै ३३ नयाँ उद्योग दर्ता भएका छन्। ३३ उद्योगले २५ अर्ब ४४ करोड रूपैयाँ लगानीको प्रतिबद्धता गरेका छन्। ३३ उद्योगले ३६ सय १२ जनालाई रोजगारीको अवसर सिर्जना गर्ने बताइएको छ। चैत महिनामा २० उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) भएको छ। ९ महिनाको अवधिमा ६३ उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण भएको छ।

उद्योग विभागका अनुसार सुरुवाती चरणदेखि हालसम्म ८९ सय ८० उद्योग दर्ता भएका छन्। दर्ता भएका ती उद्योगले हालसम्म २८ खर्ब ७ अर्ब लगानी भित्र्याउने प्रतिबद्धता गरेका छन्। ती उद्योगले ६ लाख ७३ हजार ८ सय ६७ जनालाई रोजगारीको अवसर दिने नागरिकन्यूज डटकमले जनाएको छ।

 

उद्योग विभागका अनुसार चालु आवको ९ महिनाको अवधिमा उद्योग क्षेत्रमा ३७ प्रतिशत, पर्यटन क्षेत्रमा १९ प्रतिशत, ऊर्जा क्षेत्रमा १८ प्रतिशत, सर्भिस क्षेत्रमा १७ प्रतिशत र आइसिटी क्षेत्रमा ४ प्रतिशत लगानीको प्रतिबद्धता आएको छ। त्यसैगरी कृषिमा आधारित क्षेत्रमा ३ प्रतिशत लगानीको प्रतिबद्धता आएको छ।

 

यसैबीच विदेशी लगानीकर्ताले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४१ अर्ब रूपैयाँ नेपालमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उद्योग विभागका अनुसार चालु आवको ९ महिनाको अवधिमा १९२ वटा नयाँ विदेशी उद्योगले लगानीको स्वीकृति लिएका छन्। नयाँ विदेशी उद्योगले २८ अर्ब ११ करोड रूपैयाँको लगानी भित्र्याउने प्रतिबद्धता गरेका छन्। सेयर पर्चेज एग्रिमेन्ट (एसपिए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टिटिए) १३ अर्ब रूपैयाँ लगानी भित्र्याउने प्रतिबद्धता गरेका छन्। सो अवधिमा एसपिए/एसएसए स्वीकृति लिनेको संख्या ५३ रहेको छ।

त्यसैगरी टिटिए लिनेको संख्या पनि ५३ नै छ। ती उद्योगले चालु आवको ९ महिनाको अवधिमा वैदेशिक लगानीमा खुल्ने उद्योगले १० हजार ९ सय २७ रोजगारी सिर्जना गर्ने बताएका छन्। सुरुवाती चरणदेखि हालसम्म वैदेशिक लगानीको प्रतिबद्धता ४ खर्ब ४७ अर्ब रूपैयाँ पुगेको छ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब ८ करोड रूपैयाँ वैदेशिक लगानी प्रतिबद्धता वृद्धि भएको छ।

 

आव २०७७/७८ मा ३२ अर्ब ७ करोड रूपैयाँ लगानी प्रतिबद्धता आएकोमा गत आव २०७८/७९ मा बढेर ५४ अर्ब १५ करोड रूपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ। गत आर्थिक वर्षमा विदेशी लगानीकर्ताले सेवा क्षेत्र, पर्यटन, सूचना प्रविधि, कृषि तथा वनमा आधारित उद्योग, म्यानुफ्याक्चरिङ लगायतका क्षेत्रमा स्वीकृति लिएका छन्।