काठमाडौ उपत्यकामा आठ सब-स्टेसन निर्माणाधीन
2023-05-09 16:10:34cri
Share with:

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ  सब-स्टेसन निर्माण गरिरहेको छ। काठमाडौं उपत्यकामा  चार सयदेखि एक सय ३२ केभी क्षमताका सब-स्टेसन निर्माणाधीन रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

 

भविष्यमा वृद्धि हुनसक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा चरणबद्धरुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाएको छ। सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले थप २० वटा नयाँ सब-स्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको छ।

 

सब-स्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । कूल दुई सय २० केभी प्रसारण संरचनाले काठमाडौँ उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी ‘रिङ’ निर्माण गर्न सर्वेक्षण भइरहेको छ । हाल काठमाडौंको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मूलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सब-स्टेसन निर्माणाधीन छन्।

 

टेकु र चाँगुनारायण सब-स्टेसन निर्माण अन्तिम चरणमा छन् । दुवै सब-स्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाभित्रको विद्युत्को बढ्दो  माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणाधीन सब-स्टेसन आयोजना जतिसक्दो छिट्टो सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

 

कार्यकारी घिसिङले निर्माणाधीन टेकु, फुटुङ र चाँगुनारायण सब-स्टेसनको अनुगमन भ्रमण गरी तोकिएकै समयमा सब-स्टेसन निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

 

टेकुस्थित ६६/११ केभी सब-स्टेसनको सुदृढीकरण गरी १३२/११ केभी र फुटुङमा १३२/११ केभीको नयाँ सब-स्टेसन निर्माण भइरहेका छन् । दुवै सब-स्टेसनमा ४५/४५ एमबिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर राखिने छ ।

बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सब-स्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिने छ । टेकु सब-स्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि नौ वटा नयाँ फिडर निकालिने छ, जसले काठमाडौँको केन्द्र भागको विद्युत् आपूर्तिलाई सहज बनाउने छ ।

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सब-स्टेसन निर्माण, सञ्चालनमा रहेका सब-स्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजना सञ्चालित छन्।

नेपाल सरकार तथा प्राधिकरणको लगानी,  एसियाली विकास बैङ्क (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको छ । 

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्त्वपूर्ण मानिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुङ्मती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौँको चोभारमा १३२/११ केभी सब-स्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सब-स्टेसनमा ४५ एमबिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् ।

सुख्खा बन्दरगाहा नजिक हिमाल सिमेन्टको जग्गामा सब-स्टेसन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गाप्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ। मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ । चोभारमा सब-स्टेसन बनाइ चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सब-स्टेसनमा पुर्‍याइने छ ।

 

लगनखेल सब-स्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रूपमा चापागाईँ र हरिसिद्धीमा लाइन लगिने छ। ललितपुर क्षेत्रमा स्यूचाटार–पाटन–बानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’छ।

स्थानीयको अवरोधका कारण लप्सीफेदी ४०० / २२०/१३२/११ केभी सबस्टेसन निर्माण सुरु हुनसकेको छैन । तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सब-स्टेसन निर्माण गर्न लागिएको हो लप्सीफेदीबाट चाँगुनारायण सब-स्टेसनसम्मको करिब १० किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध छ।