जनताका लागि विकास योजना
2023-05-12 10:12:24CRI
Share with:

मे १० मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हपै प्रान्तको स्योङआन नयाँ क्षेत्रको भ्रमण गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले राष्ट्राध्यक्ष भएपछि उक्त क्षेत्रको तेस्रोपटक भ्रमण गर्नुभएको हो। राष्ट्राध्यक्ष सीको ध्यान तानेको स्योङआन नयाँ क्षेत्र कहाँ छ त?

हामी सबैलाई थाहा छ, पैचिङ चीनको राजधानी हो र यहाँको छेउमा केन्द्रीय सरकारको सीधा अधीनमा रहेको अर्को नगरपालिका पनि छ - थ्यानचिन। यी दुईवटा सुपर शहरहरूको पृष्ठभूमिमा, हपै प्रान्त, जसमा माथिका दुईवटा शहरहरू छन् र यहाँ केही हदसम्म अर्थव्यवस्था र शहरी विकास अलि ढिलो भइरहेको छ। यहाँ काठमाडौं र वरपरका ललितपुर एवम् भक्तपुरको बीचमा देखिने असन्तुलित विकास जस्तै छ।

पैचिङ–थ्यानचिन–हपैको असन्तुलित विकासको समस्याको समाधान गर्न पद सम्हालेदेखि राष्ट्राध्यक्ष सी चिनफिङ आतुर हुनुहुन्छ। उहाँले यसो भन्दै आउनुभएको छ: "पैचिङ–थ्यानचिन–हपै यी ३ वटा ठाउँ एउटै फूलका पत्र जस्तै हुन्, पत्रहरू फरक हुन्छन् तर सबैको केन्द्रबिन्दु एकैतिर हुन्छ। " यद्यपि, पैचिङको जनसंख्याको विस्तार, ट्राफिक जाम र वातावरणीय ह्रास भन्ने ठूला शहरका समस्याहरूको कसरी समाधान गर्ने? साथै पैचिङमा आउने स्रोतहरूलाई छिमेकी प्रान्त वा क्षेत्रहरूसम्म कसरी फैलाउने?

सन् २०१७ मा हपैको धेरै भ्रमण, अनुसन्धान र बन्दोबस्त गरेपछि राष्ट्राध्यक्ष सीले हपै स्योङआन नयाँ क्षेत्रको स्थापना गर्नुभएको थियो। स्योङआन नयाँ क्षेत्र नै पैचिङ-थ्यानचिन-हपैको समकालिक विकासको समन्वय गराउने रणनीतिक प्लेटफर्म बन्यो। यातायात, उद्योग, सार्वजनिक सेवाहरू, दक्ष व्यक्तिको प्रवाह लगायतका कदमहरूमार्फत पैचिङ-थ्यानचिन-हपैको एकीकृत विकासको निर्माण गर्न थालियो। 


स्योङआन नयाँ क्षेत्रको स्थापना भएयताको छ वर्षमा, पैचिङ-थ्यानचिन-हपैको मुख्य क्षेत्रमा एक घण्टाको ट्राफिक सर्कल बनेको छ। सन् २०२२ को अन्तसम्म, यसै क्षेत्रको रेलवेको कूल दूरी १०,८४८ किलोमिटर पुगेको छ। सडक खुलेपछि, उद्योगधन्दा र दक्ष व्यक्तिहरू पनि आउन थालेका छन्। अहिलेसम्म, केन्द्रीय सरकार स्वामित्वयुक्त उद्यमहरूले स्योङआनमा स्थापना गरेका विभिन्न प्रकारका संस्थाहरूको संख्या १४० भन्दा बढी छन् र केन्द्रीय सरकार स्वामित्वयुक्त उद्यमहरूको पहिलो खेपका ३ वटाले स्योङआनमा आफ्ना मुख्यालयको निर्माण सुरु गरिसकेका छन् जसबाट पैचिङ वरिपरि औद्योगिक र रोजगार संरचनाको निरन्तर सुधारलाई अघि बढाइएको छ।

 थ्यानचिन र हपैमा सेवारत् तथा वाणिज्य उद्योगको अनुपात सन् २०१३ को तुलनामा, क्रमशः ७.२ र ८.४ प्रतिशतले वृद्धि भएको छ। यसै क्रममा यी २ ठाउँमा थपिएको नयाँ रोजगारी ४०.५५ लाख र ७४.८४ लाख पुगेको छ। साथै प्रतिव्यक्ति व्यययोग्य आय क्रमशः ७.१ र ८.२ प्रतिशतले वृद्धि भएको छ। यसबाहेक, पैचिङ-थ्यानचिन-हपैमा अनुसन्धान तथा विकास क्षेत्रको लगानी, उदीयमान अर्थव्यवस्थाहरू र नवीनताको संख्या चीनको अग्रस्थानमा रहेका छन्। सन् २०२२ मा यसै क्षेत्रको कुल क्षेत्रीय गार्हस्थ्य उत्पादन परिमाणमा संलग्न रकम १० खरब युआन पुगेको छ जुन सन् २०१३ को तुलनामा १.८ गुणाले बढी हो। 

स्योङआन नयाँ क्षेत्रको निर्माण तीव्र गतिमा भइरहेको सिलसिलामा, विगत छ वर्षमा, पैचिङको ट्राफिक जाम कम भएको छ र नीलो आकाश बढेको छ। साथै पैचिङ वरिपरिका उद्योगहरूको संरचना पनि अझ समन्वयित भएका छन्। मानिसहरूले अझ बढी रोजगारीका छनौटहरू पाएका छन् र स्योङआनमा पाइने उच्च गुणस्तरिय सार्वजनिक सेवाहरू पनि पैचिङ जस्ता ठूलो शहरसँग बराबर भएको छ।

स्योङआन नयाँ क्षेत्रको भविष्यबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले यसरी भन्नुभयोः नयाँ युगमा नविनताको उच्च भूमि र नयाँ उद्यमहरू भेला हुने ठाउँ बन्ने छ। स्योङआन नयाँ क्षेत्र सुधार र खुलापनको उच्च भूमिको रूपमा निर्माण गरिने छ। हाल स्योङआनले फुलिरहेको पत्र जस्तै भविष्यको ढोका खोलेर बढीभन्दा बढी चिनियाँ युवाहरूलाई आकर्षित गरिरहेको छ।