फोहोरलाई उर्जा र आम्दानीको स्रोत बनाएर उपयोग गर्न प्रधानमन्त्रीको आग्रह
2023-05-13 16:42:16cri
Share with:

प्रधानमन्त्री पुष्पकमल दाहालले फोहोरलाई नयाँ ढंगले व्यवस्थापन गरेर उर्जा र आम्दानीको स्रोत बनाउनुपर्ने बताउनुभएको छ। उहाँले सरकारले सबै खाले फोहोर व्यवस्थापन गर्न दृढतापूर्वक अगाडि बढेको बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा  शुक्रबार बसेको फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा प्रधानमन्त्री दाहालले फोहोर व्यवस्थापनलाई झन्झटका रुपमा नलिएर उर्जा, मल र आम्दानीको स्रोतका रुपमा उपयोग गर्नुपर्ने बताउनुभयो।

'परम्परागत तरिकाले फोहोरमैलाको दीर्घकालीन समाधान सम्भव छैन । आधुनिक प्रविधिको प्रयोगबाट मात्रै फोहोरलाई मोहरमा रूपान्तरण गर्न सक्छौं,' उहाँले भन्नुभयो, 'फोहोरलाई हामीले समस्या र झन्झटका रूपमा होइन उर्जा, मल र आम्दानीका विभिन्न स्रोत र अवसरका रूपमा बुझ्नुपर्छ । त्यसका लागि प्रविधिमैत्री सोच र योजना आवश्यक छ।'

'फोहोर व्यवस्थापनलाई कसरी दीर्घकालीन रूपमा सञ्चालन गर्ने, यसलाई समस्या होइन, आयमूलक परियोजनाको रूपमा कसरी प्रविधिकरण गर्ने भन्नेमा हाम्रो जोड छ । यससँग सम्बन्धित समितिहरूको बैठक बसेर १० दिनभित्र हामी फेरि अर्को बैठक बस्छौँ, त्यसले व्यवस्थापनको दीर्घकालीन निर्णय गर्नेछ,' उहाँले भन्नुभयो।

काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित गर्नेबारे प्रधानमन्त्रीले आव्हान गरेको बैठकमा सरकारका प्रतिनिधि, ल्याण्डफिल साइटका प्रतिनिधि र सरोकारवालाहरूका प्रतिनिधिहरूले फोहोर व्यवस्थापनको दीर्घकालीन उपायबारे धारणा राखेको कान्तिपुर अनलाइनले जनाएको छ।