नेपालले विश्वकप एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने
2023-05-13 16:43:07cri
Share with:

नेपालले ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।

नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको ट्वान्टी विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुर खेल्नेछन् । बाँकी दुई छनोट चरण पार गरेर आउने कान्तिपुर अनलाइनले लेखेको छ।

 

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिकी महाद्वीपमा हुने विश्वकपमा स्थान बनाउने चन्दले जानकारी गराउनुभयो। उहाँका अनुसार प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुनेछ । हालै सम्पन्न एसीसी प्रिमियर लिग कपबाट मूलपानी क्रिकेट मैदान प्रयोगमा आएको थियो ।

‘आईसीसीले बुधबार इमेल पठाएर नेपाललाई प्रतियोगिता आयोजना गर्न दिन लागेको निश्चित गरेको छ, उसले सहभागी अन्य राष्ट्रलाई ट्वान्टी–२० विश्वकपको एसिया छनोट नेपालमा आयोजना गर्न लागेको जानकारी गराइसकेको छ,’ क्यान अध्यक्ष चन्दले भन्नुभयो, ‘कीर्तिपुर र मूलपानीमा प्रतियोगिताका खेल हुने भनेको छ, मूलपानीमा अझ सुविधा थप्नुपर्ने जोड उनीहरूले गरेका छन् । हामीसँग त्यसका लागि समय छ, हामी त्यो सुविधा थप्नेछौं ।’

 

चन्दका अनुसार प्रतियोगिता आयोजना गर्ने दाबी यूएईले पनि देखाएको थियो, तर विगतमा विश्वकप छनोटदेखि एसिया कपसम्म आयोजना गरिसकेका हुनाले आईसीसीले यस पटक नेपालको पालो रहेको बताएको थियो ।

 

६ महिनाअघि आईसीसीले नेपाललाई बंगलादेशसँग मिलेर २०२७ मा आईसीसी यू–१९ महिला विश्वकप आयोजना गर्ने जिम्मेवारी तोकेको पृष्ठभूमिमा ट्वान्टी–२० विश्वकप छनोटको आयोजना पनि नेपाललाई दिएको छ । नेपालले पहिलो पटक आईसीसीको यति ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रका लागि नेपालले दाबी गरेको थियो। दुई साताअघि १० राष्ट्र सम्मिलित एसीसी प्रिमियर कप सफलतापूर्वक आयोजना गरेपछि नेपालको दाबीमा बल पुगेको थियो । गत वर्ष ग्लोबल छनोटअन्तर्गत गरिएको ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताको खेलहरू जिम्बावे र ओमानले आयोजना गरेका थिए । नेपालले यसअघि २०१० मा विश्व क्रिकेट लिग डिभिजन ५ आयोजना गरेको थियो । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले २०१६ मा नामिबिया, २०१७ मा केन्यासँगको खेल आयोजना गरेको थियो । आईसीसी विश्वकप लिग २ को २०१९–२३ को सर्कलमा नेपालले २०२० मा अमेरिका र ओमान तथा २०२३ मा नामिबिया र स्कटल्यान्ड तथा यूएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक शृंखलाका खेल आयोजना गरेको थियो ।