वसन्त ऋतुको पहिलो सफल आरोहण, ३ विदेशी र ३ नेपाली सगरमाथा चुचुरोमा
2023-05-14 18:43:20cri
Share with:

विश्वको सर्वोच्च शिखर सगरमाथामा वसन्त ऋतुको पहिलो सफल आरोहण गरिएको छ । आइतबार बिहान पौने ९ बजे ३ विदेशी र ३ नेपाली गरी ६ जना आरोहीले सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइला टेकेसँगै यो सिजनको आरोहण सुरु भएको हो।

 

पहिलो आरोहण गर्नेमा पाकिस्तानी नागरिक माइली तानी, अमेरिकी महिला आरोही जेसिका र हंगेरियन मटन टी सेर्स रहेका छन् । त्यस्तै, यो पहिलो आरोहणबाटै नेपाली आरोही पासाङ दावाले २६ औं पटक सगरमाथा चढेर कीर्तिमान राखेका छन् । खुम्बु पासाङल्हमु गाउँपालिका–४ पाङबोचे निवासी पासाङ दावा शेर्पाले २६ औं पटक सगरमाथाको शिखर चुमेर नयाँ कीर्तिमान राखेको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो।

 

त्यस्तै, आजै सफल आरोहण गर्नेमा खुम्बुपासाङल्हमु– ५ थामेका पासाङतेम्बा शेर्पा र सोही गाउँका आङनिमा शेर्पा रहेका छन्। अहिले आधार शिविर भन्दा माथि सैयौंको संख्यामा आरोहीहरु चुचुरोतर्फ लागेका छन्। हिजो दिउँसो मात्रै चुचुरोसम्म आइसफल डाक्टरहरुले डोरी टाँग्ने काम सम्पन्न गरेका थिए।

 

कान्तिपुर अनलाइनका अनुसार आरोहणको ७० वर्षे इतिहासमा पहिलो पटक सगरमाथामा यसपटक धेरै आरोहीले आरोहण अनुमति लिएका छन्।