नेपालमा १३०० मेगावाट बिजुली माग तर सुक्खायाममा उत्पादन ८३० मेगावाट मात्रै
2023-05-14 18:44:11cri
Share with:

लमजुङको दोर्दी खोलामा निर्मित ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै राष्ट्रिय प्रसारण लाइनको जडित क्षमता २७ सय मेगावाट पुगेको छ । तर हिउँदे उत्पादन भने करिब ३० प्रतिशतमा खुम्चिएको छ । जलशाययुक्त आयोजना निर्माण नहुँदा र नदी प्रवाही आयोजनाको भरमा रहेको नेपाली जलविद्युत् क्षेत्र सुक्खायामसँगै क्रमशः भारतीय बिजुलीको भरमा चलेको छ । गर्मीयामसँगै भारतमा पनि बिजुलीको उच्च माग हुँदा नेपालले मागे जति बिजुली ल्याउन पाएको छैन ।

 

अहिले नदी प्रवाही आयोजनाबाट ७३०, कुलेखानीबाट १०० मेगावाट गरी ८३० मेगावाट हाराहारीमा बिजुली उत्पादन भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले ब्याकअपका रूपमा राखेको कुलेखानीबाहेक अन्य नदी प्रवाही आयोजना हुन् । यी आयोजनाबाट जडित क्षमताको एकतिहाइ पनि विद्युत् उत्पादन भएको छैन । प्राधिकरणका ठूला आयोजना तामाकोशी, कालीगण्डकीलगायत आयोजनाबाट गरी २३० मेगावाट हाराहारीमा मात्रै विद्युत् उत्पादन भइरहेको छ भने बाँकी निजी क्षेत्रको उत्पादन रहेको प्राधिकरणको भनाइ छ ।

हालै राष्ट्रिय प्रणालीमा जोडिएको सुपर दोर्दीको उत्पादन क्षमता ५४ मेगावाट भए पनि उत्पादन भने १८ मेगावाटमा सीमित छ । हाल आधार माग १२७५ मेगावाट हाराहारी रहेको र औसत माग १३०० सय मेगावाट पुगेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो । उच्च माग भने १७५० मेगावाट पुगेको उहाँको भनाइ छ । स्वदेशी उत्पादन ३० प्रतिशत हाराहारीमा खुम्चिएसँगै माग धान्न भारतबाट करिब ५०० मेगावाट बिजुली आयात भइरहेको प्राधिकरणले जनाएको छ । माग उच्च भएका बेला भने प्राधिकरणले औद्योगिक क्षेत्रमा बिजुली कटौती गरेको प्राधिकरणले बताएको छ ।

 

उत्पादनमा कमी आएसँगै देशका कतिपय औद्योगिक क्षेत्रमा विद्युत् कटौती गरिँदै आएको छ । भारतमा पनि हाल चरम विद्युत् अभावको समस्या रहेको र कतिपय अवस्थामा भारतीय ऊर्जा खरिद बिक्री बजार (आईईएक्स) मा बिडिङ गर्दा पूरै नपाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।

 

अहिले उत्पादन गत वर्षको भन्दा पनि २५ देखि ३० प्रतिशतमा खुम्चिएको र निजी क्षेत्रको उत्पादन हाल १५ प्रतिशतमा सीमित भएको घिसिङले जनाउनुभयो।

भारतको बिजुली हाल ढल्केबर र टनकपुरबाट मात्रै आयात भइरहेको र पूर्व पठाउन १३२ केभीको प्रसारण लाइनमा २ सय मेगावाट मात्रै जाने हुँदा पनि उक्त क्षेत्रमा समस्या रहेको घिसिङको भनाइ छ । हाल पूर्वको उच्च माग २७० मेगावाट छ ।

यसैबीच कैलालीको अत्तरियादेखि दार्चुलाको बलाँचसम्म निर्माणाधीन १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो सर्किट सञ्चालनमा आउन नसक्दा यस क्षेत्रमा रहेका विद्युत् आयोजनाबाट उत्पादित बिजुली खेर जाने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी अत्तरिया–बलाँच प्रसारण लाइन आयोजनाको दोस्रो सर्किटको काम नसकिँदा यस्तो अवस्था आएको हो ।

अत्तरिया–बलाँच डबल सर्किट प्रसारण लाइनको सिंगल सर्किट ०७४ मा नै सञ्चालनमा आए पनि दोस्रो सर्किट निर्माण सकिएको छैन । करिब १३१ किमि लामो लाइनको दोस्रो सर्किट चार्ज नभए माथिल्लो चमेलियाबाट उत्पादित बिजुली खेर जाने चिन्ता बढेको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपाने बताउनुहुन्छ।

अहिले यस क्षेत्रमा डबल सर्किट लाइन चार्जका लागि केही रूख कटानको काम मात्रै बाँकी छ । प्राधिकरणले चाहे १०/१५ दिनमा यो काम सकिने न्यौपानेको भनाइ छ । माथिल्लो चमेलियाको बिजुली पूर्ण क्षमतामा चल्ने बेला बिजुली खेर जान नदिन दोस्रो सर्किट चाँडै चार्ज गर्ने व्यवस्था मिलाउनुपर्ने उहाँले बताउनुभयो। अत्तरिया–बलाँच प्रसारण लाइनको काम ३/४ वर्षदेखि रोकिएको छ । यस क्षेत्रमा रहेका केही रूख काटेपछि लाइन चार्ज गर्न समस्या नरहेको आयोजना प्रमुख अनिल अधिकारीले जानकारी दिनुभयो।

 

‘लामो समयदेखि रोकिएको प्रसारण लाइनको दोस्रो सर्किट निर्माण भर्खरै पूरा भएको छ । अहिले ठेकेदारले लाइनको पेट्रोलिङ गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘अब केही रूख कटानको काम सकिएपछि चार्ज गर्ने तयारीमा छौं ।’ यसअघि प्राधिकरणले बलाँच–अत्तरिया १३२ केभी सिंगल सर्किट प्रसारण लाइन र सबस्टेसनको काम ०७४ मा सकेको थियो । दक्षिण कोरिया सरकारको ऋण लगानीमा बनाएको थियो।