विदेश अध्ययनमा ९ महिनामै बाहिरियो ६७ अर्ब
2023-05-14 18:45:06cri
Share with:

चालु आर्थिक वर्षको नौ महिनामै गत आर्थिक वर्षभरमा वैदेशिक अध्ययनका लागि बाहिरिएकै बराबर विदेशी मुद्रा नेपालबाट बिदेसिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत साउनदेखि चैतसम्ममा वैदेशिक अध्ययनकै लागि नेपालबाट ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको चैत महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको हो ।

गत आर्थिक वर्षमा वैदेशिक अध्ययनकै लागि नेपालबाट ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उक्त शीर्षकमा बाहिरिएको रकम करिब ५४ प्रतिशतले बढी हो ।

कोभिड संक्रमणका बेला नेपालबाट वैदेशिक अध्ययनमा जान नपाएकाले कोभिडपछि विद्यार्थीको संख्या बढेको सरकारी अधिकारीहरू बताउँछन् । तर यो क्रम कोभिडपछिका पछिल्ला वर्षमा पनि उच्च दरले बढिरहेको छ । चालु आर्थिक वर्षको नौ महिनामा वैदेशिक अध्ययनका लागि बाहिरिएको रकम कोभिड संक्रमणअघिको वर्षभरिमा सोही शीर्षकमा बाहिरिएको भन्दा झन्डै दोब्बर बढी हो । आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड र ०७५/७६ मा वैदेशिक अध्ययनका लागि ४६ अर्ब ३२ करोड बाहिरिएको थियो । खासगरी यस वर्ष क्यानडा, अस्ट्रेलियालगायत देशले सहज रूपमै अध्ययन भिसा प्रदान गरेका कान्तिपुर अनलाइनले खबर लेखेको छ। 

यसकारण यस वर्ष विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या धेरैले बढेको हो । यसरी हरेक महिना विदेश अध्ययन र भ्रमणमा ठूलो रकम बाहिरिँदा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको राष्ट्र बैंकका उच्च अधिकारीको भनाइ छ ।