चिनियाँ राष्ट्राध्यक्ष र एरिट्रियाका राष्ट्रपति बीच भेट-वार्ता
2023-05-15 20:03:41cri
Share with:

मै १५ तारिख अपरान्ह चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन भ्रमणमा आउनुभएका एरिट्रियाका राष्ट्रपति इसैयास अफवेर्कीसँग भेट-वार्ता गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले भन्नुभयोः चीन र एरिट्रिया बीच परम्परागत प्रगाढ मित्रता रहेको छ। यसै वर्षको मै २४ तारिख आपसी दौत्य सम्बन्ध स्थापना भएको तीसौँ वार्षिकोत्सव हो। एरिट्रियासँगै मिलेर पारस्परिक रणनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याइने आशा चीनले लिएको छ। साथै एरिट्रियासँगै देशको शासन व्यवस्था अनुभवको आदानप्रदान गर्दै एकपक्षीयवाद र प्रभुत्वादी गतिविधिको विरोध गरेर विकासोन्मुख मुलुकहरूको साझा हितको संरक्षण गर्ने इच्छा चीनले लिएको छ।

भेटमा एरिट्रियाका राष्ट्रपति इसैयासले आधा शताब्दीभन्दा बढी समयदेखि चीनसँगको आफ्नो विशेष सम्बन्धलाई स्मरण गर्दै एरिट्रियाको स्वतन्त्रता र मुक्तिका लागि चिनियाँ जनताले प्रदान गरेको बहुमूल्य नैतिक र भौतिक सहयोगलाई एरिट्रियाली जनताले कहिल्यै बिर्सन नसक्ने बताउनुभयो। चीनले स्वतन्त्रता र विकास खोज्ने विकासोन्मुख मुलुकहरूलाई प्रोत्साहन गरिरहेको छ। एरिट्रियाले चीनसँगको सहयोगलाई सुदृढ पार्ने आशा गरेको छ र एरिट्रियाको राष्ट्रिय आर्थिक र सामाजिक विकास हासिल गर्ने क्रममा एरिट्रिया-चीन रणनीतिक साझेदारी सम्बन्धले मद्दत गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

सो वार्ताअघि चिनियाँ राष्ट्राध्यक्ष सीले जनबृहत् सभाभवनको पूर्वी ढोकाबाहिरको चोकमा राष्ट्रपति इसैयासकालागि स्वागत समारोह आयोजना गर्नुभएको थियो।

सोही साँझ राष्ट्राध्यक्ष सीले उहाँकालागि स्वागत भोजको पनि आयोजना गर्नुभएको छ।