कृषकलाई १० लाख रुपियाँ बराबरको औजार वितरण
2023-05-15 16:37:24cri
Share with:

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका किसानलाई कृषिऔजार वितरण गरिएको छ। नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा पशुपालक फर्म तथा कृषकलाई साना कृषिऔजार बितरण गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।

२९ जना कृषकलाई ईलेक्ट्रिक च्याप कटर (घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन (गोठ सफा गर्ने मेसिन), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायतका सामग्रीहरु वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो। कृषकलाई कृषि तथा पशुपालनमा उत्साहित बनाउन औजार वितरण गरिएको उहाँको भनाइ छ।

नगरपालिका भित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा करिब १० लाख रुपियाँ बराबरको साना कृषि औजार (पशुपन्छी) ईलेक्ट्रिक च्याप कटर (घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन (गोठ सफा गर्ने मेसिन), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायतका सामग्रीहरु वितरण गरिएको पशु शाखा प्रमुख राजु कुँवर मगरले बताउनुभयो। 

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कृषकहरुको समय र मेहनतको बचत गर्न तथा पशुपालक कृषकलाई सो काममा अग्रसर बनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। पछिल्लो समय युवाको कृषिमा सहभागिता बढेको भन्दै देशमै स्वरोजगार हुन यस्ता अनुदानका कार्यक्रमले सहयोग गर्ने समेत बताउनुभयो।