घट्यो विदेशी लगानी
2023-05-15 16:36:48cri
Share with:

चालु आर्थिक वर्षको वैशाख महिनामा विदेशी लगानी प्रतिबद्धतामा कमी आएको छ। चैत महिनामा ह्वात्तै बढेको विदेशी लगानी प्रतिबद्धता वैशाखमा उल्लेख्य कमी आएको हो। उद्योग विभागका अनुसार वैशाख महिनामा २८ वटा परियोजनामार्फत एक अर्ब ६४ करोड ८३ लाख २० हजार रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो।

साना उद्योगमा मात्र लगानी प्रतिबद्धता आएको तथा ठुला र मझौला उद्योगमा लगानी प्रतिबद्धता नआएको विभागले जनाएको छ। विभागका अनुसार वैशाख महिनामा सबैभन्दा धेरै  सेवामूलक परियोजनामा १३, पर्यटन उद्योगमा आठ, सूचना प्रविधिमा आधारित तीन, पूर्वाधारमा दुई परियोजनामा लगानी प्रतिबद्धता आएको छ।

वैशाख महिनामा २८ परियोजनामार्फत एक हजार २७२ जनालाई रोजगारी दिने प्रतिबद्धता गरिएको छ। वैशाख महिनामा १३९ बिजनेस भिसा, ४७ प्रतिनिधि लक्षित गरेर ११५ वटा भिसा सिफारिस गरिएको विभागले जनाएको छ।

चैत महिनामा ३३ वटा परियोजनामार्फत सात अर्ब ५५ करोड १८ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो। अन्य महिनाको तुलनामा चैत महिनामा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

विभागका अनुसार चालु आवको साउन महिना मात्र दुई अर्ब ६४ करोड नौ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

भदौ महिनामा तीन अर्ब ४४ करोड ६५ लाख रुपियाँ, असोज महिनामा एक अर्ब ८५ करोड ४७ लाख रुपियाँ, कात्तिक महिनामा तीन अर्ब ६५ करोड रुपियाँ, मङ्सिर महिनामा ८० करोड आठ लाख रुपियाँ, पुस महिनामा चार अर्ब ८५ करोड २० लाख रुपियाँ, माघ महिनामा एक अर्ब ३९ करोड र फागुन महिनामा एक अर्ब ९२ करोड २९ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले साना साना परियोजनामा लगानी आएकाले वैशाख महिनामा वैदेशिक लगानी प्रतिबद्धता कमी आएको तथा चैत महिनामा एउटै परियोजनामा पाँच अर्ब लगानी प्रतिबद्धता आएकाले लगानी बढेको जानकारी दिनुभयो। विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता घटेको बताउनुभयो।

सरकारले वैदेशिक लगानीको सीमा घटाएसँगै सानो लगानीका विदेशी परियोजनामार्फत लगानी बढ्ने अनुमान गरिए पनि सो अनुसार लगानी आउन नसकेको विभागले जनाएको छ। गत मङ्सिर महिनादेखि विदेशी लगानीको सीमा पाँच करोडबाट घटाएर दुई करोड रुपियाँमा झारेको थियो। लगानीको सीमा घटाएकाले पनि कम विदेशी प्रतिबद्धता आएको गोरखापत्र अनलाइनले लेखेको छ।

सुरुदेखि हालसम्म चार खर्ब ४९ अर्ब ९६ लाख १३ हजार रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको बताइएको छ।