पैचिङको निषिद्ध दरबारमा गान्धारसँगको भेट
2023-05-16 20:10:34cri
Share with:

चीनको निषिद्ध दरबार सङ्ग्रहालय र पाकिस्तानको राष्ट्रिय सम्पदा तथा सांस्कृतिक विभागको पुरातत्व तथा सङ्ग्रहालय ब्यूरोको संयुक्त आयोजनामा पैचिङस्थित निषिद्ध दरबार सङ्ग्रहालयमा हालै ‘गान्धार कला प्रदर्शनी’ आयोजना गरिएको छ। यस प्रदर्शनीमा प्रदर्शित पुरातात्विक अवशेषहरूको कुल संख्या २०३ वटा छन्, जसमा पाकिस्तानका ७ सङ्ग्रहालयहरूबाट छानिएका १७३ पुरातात्विक वस्तुहरू र चीनको निषिद्ध दरबार सङ्ग्रहालयद्वारा छानिएका ३० पुरातात्विक वस्तुहरू (सेटहरू) समावेश छन्। यो नै हालसम्म चीनमा आयोजित सबैभन्दा ठूलो गान्धार कला प्रदर्शनी हो।

प्राचीन गान्धारका पुरातात्विक भग्नावशेष मुख्यतया आजको उत्तरी पाकिस्तानको पेशावर उपत्यकादेखि सिन्धु नदीको पूर्वी किनारा र अफगानिस्तानको पूर्वी काबुल उपत्यकासम्म पर्दछ। यो दक्षिण एसियाली उपमहाद्वीप र सिल्क रोड जोड्ने एक महत्वपूर्ण केन्द्र हो।

चीन र पाकिस्तान दुवै सिल्क रोड प्राचीन सभ्यताका मुलुकहरू हुन्। ऐतिहासिक अभिलेखअनुसार, इस्वी संवत् ४०० देखि ६३० को बीचमा चिनियाँ भिक्षु तथा तीर्थयात्री फासियान, सोङ युन, हुइसेङ, स्युआनचाङले यस स्थानको क्रमिक रूपमा भ्रमण गरेका थिए र गान्धारको भौतिक र सांस्कृतिक सम्पदा बारेमा लेखेका थिए।