सिन्धुलीका ९३ स्थानमा डढेलो
2023-05-16 15:53:28cri
Share with:

सिन्धुली जिल्लामा पछिल्लो समयमा जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ। चैत अन्तिममा वर्षा भएपछि रोकिएको डढेलो गर्मी र सुक्खा बढेसँगै फेरि बढेको हो।

सिन्धुली जिल्लामा आइतबार बेलुकासम्ममा ९३ ठाउँको जङ्गलमा आगलागी भएको डिभिजन वन कार्यालयले जनाएको छ। सबैभन्दा बढी गोलन्जोर गाउँपालिकामा २१ ठाउँमा, दुधौली नगरपालिकामा १५ ठाउँमा र सबभन्दा कम घ्याङ्लेख गाउँपालिकामा दुई ठाउँमा डढेलो लागेको कार्यालयले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

साँझ परेपछि आसपासका जङ्गलमा जताततै डढेलो लागेको देख्न सकिन्छ। जङ्गलमा लागेको आगो फैलिँदै गाउँ बस्तीनजिक पुग्न थालेपछि स्थानीय चिन्तित बनेका छन्।

गोलन्जोर गाउँपालिका–७, राताटारका कृष्णबहादुर राईले बस्तीनजिकको जङ्गलमा दुई दिनसम्म लागेको डढेलो दमकल, प्रहरी र स्थानीयको प्रयासले शनिबार मात्रै नियन्त्रण गरेको बताउनुभयो।

डढेलोका कारण संरक्षित वन नष्ट हुने तथा नजिक रहेका घरगोठमा आगलागी हुने भन्दै स्थानीय त्रसित छन्।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोख्रेलले विगत केही दिनदेखि नगरपालिकाको दमकललाई डढेलो निभाउन भ्याइनभ्याइ भएको बताउनुभयो।

डढेलो लगाएपछि घाँस राम्रो आउने आसमा गोठाला तथा घाँस काट्नेले जङ्गलमा आगो सल्काइदिने भएकाले डढेलो अनियन्त्रित हुने गरेको हो। स्थानीयले नियन्त्रणका लागि खासै प्रयास गर्दैनन्। घर तथा बस्ती नै आगलागी भएमा मात्र कोकोहोलो हुने गरेको छ। डढेलो लागेको खबर पाएमा तत्काल टोली परिचालन हुने कार्यालय प्रमुख कृष्णराज न्यौपानेले बताउनुभयो। आफ्नै घरगोठमा आइनपुगी स्थानीयले डढेलोको खबर नगर्दा नियन्त्रणमा समस्या भएको उहाँले बताउनुभयो। “डिभिजन वन, सेना, प्रहरी, सशस्त्र गरी ४० जनाको अग्नि नियन्त्रक संयुक्त टोली छ। जानकारी हुनेबित्तिकै हामी परिचालन गर्छौं,” उहाँले भन्नुभयो। 

सिन्धुली जिल्लामा यो वर्ष डढेलोलगायतका प्राकृतिक प्रकोपजन्य घटनाबाट पाँच जनाको ज्यान गइसकेको छ। कार्यालयका अनुसार आगलागीबाट २५ घरपरिवार बिचल्लीमा परेका छन्।

प्रतिमृतक दुई लाख रुपियाँका दरले आगलागीपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ। आगलागीबाट पीडित २५ घरपरिवारले सङ्घीय सरकारबाट १५ हजार रुपियाँदेखि ४० हजार रुपियाँसम्म राहत सहयोग पाएका छन्। त्यस्तै बाढीपीडित दुई परिवारलाई १५ हजार रुपियाँका दरले राहत उपलब्ध गराएको पनि जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ।