विकास ऋणपत्रबाट नेपाल सरकारले उठायो ५० अर्ब आन्तरिक ऋण
2023-05-18 15:57:29cri
Share with:

चालु आर्थिक वर्षमा गत मंसिरदेखि जेठ २ गतेसम्म नेपाल सरकारले विकास ऋणपत्रबाट मात्र ५० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गरेको छ। यो अवधिमा राष्ट्र बैंकले २ देखि ६ वर्षसम्म परिपक्व अवधि भएका विकास ऋणपत्र बिक्री गरेको थियो।

विभिन्न समयमा राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बराबरका विकास ऋणपत्र बिक्रीका लागि बोलकबोल आह्वान गरेकोमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको माग आएको थियो। उल्लिखित ऋणपत्रमा भारित औसत ब्याजदर ९.४६ प्रतिशत कायम भएको छ।

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने व्यवस्था छ। ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुँदै आएको कान्तिपुर अनलाइनले लेखेको छ।

यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुँदै आएको छ। सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ। सोही लक्ष्य अनुसार विभिन्न औजारमार्फत आन्तरिक ऋण उठाइरहेको छ।