चिनियाँ जनमुक्ति सेनाद्वारा वीरेन्द्र अस्पताललाई एमआरआई मेशिन प्रदान
2023-05-18 15:56:49cri
Share with:

काठमाणौँको छाउनीस्थित वीरेन्द्र अस्पतालमा अत्याधुनिक एमआरआई मेशिन जडान भएको छ। यसबाट नेपाली सेनामा प्रविधिमा आधारित स्वास्थ्य उपचार सुविधाको विस्तारमा ठूलो उपलब्धि हासिल भएको छ।

जनवादी गणतन्त्र चीन सरकारबाट नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त मेशिन औपचारिक रुपमा हस्तान्तरणका लागि आयोजित समारोहमा नेपालका लागि चीनका राजदूत छन् सोङ र प्रधान सेनापति महारथी प्रभुराम शर्माले मेशिन जडित कक्षको संयुक्त रुपमा उद्‍घाटन गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रमा पुर्‍याएको योगदानका लागि चीन सरकार तथा चिनियाँ जनमुक्ति सेनाप्रति नेपाली सेनाको तर्फबाट आभार प्रकट गर्नुभयो।

नेपाली जनता तथा चिनियाँ जनताहरु बीच रहँदै आएको युगौं पुरानो सुमधुर सम्बन्धका बारेमा उल्लेख गर्नुहुँदै प्रधान सेनापतिले सन् २०१५ को विनासकारी भुकम्प पश्चातको उद्धार तथा पुनःनिर्माणका प्रयासहरुका साथै कोभिड १९ महामारी विरुद्धका प्रयासहरुमा चीनबाट प्राप्त सहयोग नेपाली जनता तथा नेपाली सेनाका लागि स्मरणीय रहने कुरा बताउनुभयो।

कार्यक्रममा आफ्नो मन्तव्य राख्‍नुहुँदै चिनियाँ राजदूतले नेपाल चीनको एक असल छिमेकीका रुपमा रहिआएको कुरा बताउनु हुँदै नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रको सुधारमा सहयोग गर्न पाएकोमा प्रशन्‍नता व्यक्त गर्नुभयो।

उहाँले दुई देशका जनता तथा सरकारहरु बीचको सम्बन्ध सुमधुर रहेको तथा भविष्यमा पनि रहिरहने विश्वास समेत व्यक्त गर्नुभयो।