१६ वर्षीया चिनियाँ युवतीद्वारा सगरमाथा आरोहण
2023-05-18 15:55:58cri
Share with:

१६ वर्षीया चिनियाँ युवतीले सगरमाथाको सफल आरोहण गर्नुभएको छ। यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती सुई चो युआनले सगरमाथाको सफल आरोहण गर्नुभएको हो। चिनियाँ युवती चो युआनले जेठ १ गते सोमबार बिहान ५:४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गर्नुभएको हो।

यसबारेमा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको राससले जनाएको छ। चो युआनले आफ्ना बुबा सुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गर्नुभएको सुनाउँदै त्यहीँबाट आफूले आरोहण गर्ने प्रेरणा पाएको बताउनुभयो।

आरोहणका क्रममा सुरुवातमा मौसम खराबीका कारण चुनौती सामना गर्नुपरेको तर आरोहणको दिन भने मौसमले साथ दिएको बताउनुभयो। उहाँले सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको असर आफूले सुनेको जस्तै पाएको अनुभव सुनाउनुभयो। उहाँले आरोहणबाट फर्किने क्रममा उपयोग भइसकेका सामान आफूलेसँगै फिर्ता ल्याएको जानकारी समेत गराउनुभयो।

यस वर्ष सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको अवसरमा सबैभन्दा धेरै आरोहीले आरोहणको अनुमति लिएका छन्। यस वर्षको आरोहण शनिबारदेखि सुरु भएको हो।