नव निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै चीनतर्फ चार्टर्ड उडान
2023-05-19 15:46:43cri
Share with:

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ। आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो। यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। बिहीबार नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए। विमानस्थल सञ्चालनमा आएसँगै पोखरेलीको साढे चार दशकदेखिको सपना पूरा भएको छ।

विसं २०७९ पुस १७ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान भर्न नसकेको अवस्थामा चार्टर्ड उडानले आफूहरूलाई उत्साहित बनाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो।

‘आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा चार्टड उडान हुने कुराले उत्साहित छौँ’, उहाँले भन्नुभयो, ‘यसबाट अन्तर्राष्ट्रिय उडानको सुरुआत हुनेछ, यो जसरी पनि कार्यान्वयन हुनुपर्छ।’

राष्ट्रिय समाचार समितिका अनुसार विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका सहरमा चार्टर्ड उडान अन्तर्राष्ट्रिय उडानको महत्त्वपूर्ण सुरुआत हुने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी बताउनुहुन्छ। नेपाल आउने चिनियाँ पर्यटकमध्ये झण्डै ८० प्रतिशत पोखरा भित्रने गरेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो। विशेषतः साहसिक पर्यटन चिनियाँ पर्यटकको रोजाइ हुने गरेको छ।

सन् २०१९ अघि पोखरामा ठूलै सङ्ख्यामा चिनियाँ पर्यटक आए पनि कोरोना महामारीलगायत कारणले पछिल्लो समय आगमन प्रभावित बनेको थियो। चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७३ वैशाख १ गते शिलान्यास गरिएको पोखरा विमानस्थलको निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सीएमसीईले पाएको थियो। चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब रु २२ अर्बको लागतमा विमानस्थल निर्माण गरिएको हो।

विमानस्थलमा न्यारोबडी एयर बस तीनसय २०, बोइङ सात सय ३५ जहाज उडान र अवतरण गर्न सकिन्छ। विमानस्थलमा तीन ठूला र आठ साना जहाज पार्किङ गर्न सकिन्छ। धावन मार्ग दुई हजार पाँच सय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ। विमानस्थलमा १४ आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन छन्। अन्तर्राष्ट्रिय उडानले विभिन्न देशका सहरसित पोखराको सीधा सम्पर्क हुनेछ। पोखराबाट हुने अन्तर्राष्ट्रिय उडान पोखरामात्र नभई समग्र देशको पर्यटकीय विकासका लागि कोसेढुङ्गा सावित हुने पर्यटन व्यवसायी बताउँछन्।