सगरमाथा चुचुरोमा ३२५ आरोही
2023-05-19 15:44:44cri
Share with:

वसन्त ऋतुमा यो वर्ष हालसम्म ३२५ जनाभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । गत शनिबारबाट सुरु भएको यस वर्षको सगरमाथा आरोहणका लागि ६५ देशका ४७८ आरोहीले अनुमति लिएका थिए ।

पर्यटन विभागका अनुसार आरोहणको बाटो खुलेसँगै विभिन्न एजेन्सीमार्फत आरोहीले सगरमाथा आरोहण जारी राखेका छन् । विभागका निर्देशक युवराज खतिवडाका अनुसार बिहीबार अबेरसम्म ३२५ जनाभन्दा बढीले आरोहण पूरा गरे पनि यकिन तथ्याङ्क आउन बाँकी छ ।

निर्देशक खतिवडाले हालसम्म मौसमले साथ दिएको र पुनः मौसममा सुधार आएसँगै बाँकी आरोही चुचुरोतर्फ लाग्ने बताउनुभयो । उहाँले आरोहणका लागि खुला गरिएका अन्य अधिकांश हिमालमा समेत यस वर्ष आरोहण राम्रो भएको जानकारी दिनुभयो ।

बुधबार एकैदिन १७५ भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । यसअघि २०७६ जेठ ९ गते सबैभन्दा धेरै ३५४ जनाले सगरमाथाको आरोहण गरेका थिए । निर्देशक खतिवडाका अनुसार यस सिजनमा सगरमाथा आरोहणका क्रममा सात जना आरोहीले ज्यान गुमाएका छन् ।

विभागका अनुसार यस सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका एक हजार १७६ जनाले अनुमति लिएका छन् । सरकारले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख रुपियाँ सलामी दस्तुरबापत राजस्व सङ्कलन गरेको छ । गोरखापत्र।