गोसाइँकुण्डमा विशेष मेला सुरु
2023-05-20 15:24:24cri
Share with:

रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आज (शनिबार) देखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत  आरम्भ  भएको  १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आराधना गर्न थालेका छन्  । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। गोसाइँकुण्ड मेलाको पहिलो दिन आज तीर्थ पुग्ने भक्तजनले दिनभरिनै कुण्डमा स्नान तथा विशेष पूजा गर्ने गर्दछन्।

समुद्र मन्थन गर्दा निस्केको कालकूट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान् शिव नीलाद्रि पर्वत पुग्नुभएको धार्मिक मान्यता छ । त्रिशूल प्रहारबाट नीलाद्री पर्वतमा जल उत्पन्न गराई  पानीको प्यास मेट्नु भइं त्यही जलले बनेको पोखरीमा शिव शङ्कर भगवान् विराजमान रहनुभएको बताइएको छ । कुण्डमा डुबुल्की मारेपछि शक्तिले उकालोमा जाँदा लागेको सम्पूर्ण थकाइ समाप्ति भएको अनुभव प्राप्त हुँदै आएको छ ।

निलाद्री पर्वतअर्थात् गोसाइँकुण्ड तीर्थ समुद्री सतहबाट चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित छ । पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ । कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जिन्दगीमा एक पटक गोसाइँकुण्ड पुग्नै पर्ने मान्यता रहिआएको छ। गोरखापत्र अनलाइन।