असोजदेखि १० मेगावाट सौर्यऊर्जा
2023-05-21 15:50:59cri
Share with:

झापामा सुरु गरिएको सौर्यऊर्जा प्रणालीबाट आगामी असोज १ गतेबाट विद्युत उत्पादन हुने भएको छ। १० मेगावाटको सो परियोजना निर्माणको अन्तिम चरणमा पुगेको र अब विद्युत उत्पादनको अवस्था आउन लागेको जनाइएको छ।

झापाको शिवसताक्षी–४ मा झापा इनर्जीले निर्माण गरिरहेको परियोजनाको ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ। २२ बिगाहा जमिनमा हाल परियोजनाको प्यानल जडानको काम भइरहेको छ। यसका लागि ४० करोड रुपैयाँ लगानी भइसकेको छ। झापा इनर्जीका सञ्चालक सुवाश भट्टराईका अनुसार तीन वर्षअघि निर्माण थालिएको परियोजना कोभिडका कारण केही ढिला भएको हो।

यस परियोजनामा सेयर धनीबाट र बैंकिङ लगानीबाट वित्तीय व्यवस्थापन मिलाइएको छ। माछापुच्छ्रे बैंकले ३५ र सिभिल बैंकले २५ करोड रुपैयाँ लगानी गरेका छन् भने २० करोड रुपैयाँ सेयर धनीबाट संकलन गरिएको छ। जलविद्युतमा भन्दा आधा लगानीमा सौर्य विद्युत उत्पादन गर्न सकिने देखिएको परियोजना सञ्चालकको भनाइ छ।

परियोजनाका मुख्य इन्जिनियर केशव चापागाईंका अनुसार ऊर्जा उत्पादनका लागि २१ हजार ८४० वटा प्यानल जोडिएको छ। संघीय सांसद लालप्रसाद साँवा अध्यक्ष रहेको झापा इनर्जीले उत्पादन गरेको विद्युत ७.३० रुपैयाँका दरले नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने सम्झौता भइसकेको जनाइएको कारोबार दैनिकले लेखेको छ।