चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ
2023-05-21 15:49:20cri
Share with:

चिनियाँ आरोहीले सर्वोच्च शिखर सगरमाथामा प्याराग्लाइडिङ गरेका छन्। चिनियाँ नागरिक ली सेनगतोले सगरमाथाको आठ हजार मिटरबाट आधार शिविरसम्म प्याराग्लाइडिङ गर्नुभएको नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन नेपालले जानकारी दिनुभएको छ। आरोही ली आठ हजार मिटरबाट करिब ४० मिनेटमा आधार शिविर झर्नुभएको थियो।

उहाँका अनुसार चिनियाँ आरोहीले सगरमाथाको आठ हजार मिटरबाट प्याराग्लाइडिङ गर्ने अनुमति लिएका थिए। आरोही ली नेपाल बिग माउन्टेन ट्राभल कम्पनीको समन्वयमा सगरमाथा आरोहणमा जानुभएको थियो। उहाँ सगरमाथाको आठ हजार मिटरबाट प्याराग्लाइडिङ गरेर आधार शिविर झरेर पुनः सगरमाथा आरोहणका लागि जानुभएको राससले जनाएको छ।

 “चिनियाँ आरोही ली आरोहण गरेर सगरमाथाको आठ हजार मिटरमा पुगी प्याराग्लाइडिङ गरेर आधार शिविर झर्नुभयो। अहिले आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लाग्नुभएको छ”, उहाँले भन्नुभयो।

प्रबन्ध निर्देशक नेपालले साहसिक कार्यमा रमाउने चिनियाँ पर्यटकलाई आकर्षण गर्न यसले प्रोत्साहन गर्ने बताउनुभयो। कोरोना महामारीपछि चिनियाँ पर्यटक आगमन बढिरहेको सन्दर्भमा चिनियाँ पर्यटकलाई बढीभन्दा बढी आकर्षण गर्न सहयोग पुग्ने बताउनुभयो।