६ वस्तुमा आयात घट्दा व्यापार घाटामा सुधार
2023-05-22 19:12:01cri
Share with:

व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने ६ वस्तुको आयात घट्दा मुलुकको समग्र व्यापार घाटामा सुधार देखिएको छ । एलपी ग्यास, भटमासको कच्चा तेल, कच्चा पाम तेल, मोबाइल टेलिफोन, कोइला र पोलिथिन दानाको आयात घट्दा व्यापार घाटा झन्डै १५.८५ प्रतिशतले घटेको छ । १० महिनाको तुलनामा यी ६ वस्तुको आयात ५८ अर्ब घटेको छ । आर्थिक वर्ष ०७८/७९ को १० महिनामा यी ६ वस्तुको आयातमा २ खर्ब २९ अर्ब ६५ करोड बाहिरिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । जबकि ०७९/८० को १० महिनामा १ अर्ब ७० अर्ब ७२ करोड मात्रै बाहिरिएको छ । आयातमा ५८ अर्ब १३ करोड बचत हुँदा घाटामा केही सुधार देखिएको हो ।

 

सबैभन्दा बढी भटमासको कच्चा तेल आयातमा १७ अर्ब ५३ करोडले कमी भएको छ । गत वर्ष १० महिनामा ४९ अर्ब ४१ करोडको भटमासको तेल कच्चा आयात भएकामा ०७९/८० को १० महिनामा आयात खुम्चिएर ३१ अर्ब ८८ करोड पुगेको छ । कच्चा पाम तेलको आयात ११ अर्ब ५५ करोडले घटेको छ । आर्थिक वर्ष ०७८/७९ को १० महिनामा ३४ अर्ब ७४ करोडको आयात भएकामा अहिले २३ अर्ब १९ करोडमा झरेको कान्तिपुर अनलाइनले खबर लेखेको छ ।

 

भारतले गत वर्षदेखि कच्चा तेल आयातमा शून्य भन्सार गरेको छ । त्यस्तै यसको जीएसटी ५ प्रतिशत मात्रै छ । तर नेपालमा कच्चा तेल आयातमा १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्छ । पारवहन खर्चले पनि यसमा प्रभाव पारेको नेपाल वनस्पति घिउ तेल उत्पादक संघले जनाएको छ ।

‘आफ्ना उपभोक्तालाई राहत दिन भारतले गत जेठबाट कच्चा तेलमा भन्सारदर घटायो । तुलनात्मक रूपमा नेपालमा भने झन्डै २० प्रतिशत महँगो पर्‍यो,’ संघका महासचिव अमित मोरले भन्नुभयो, ‘नेपालमा महँगो भएकाले आयात कम भयो । र करिब ४० हजार टन अवैध रूपमा भित्रियो ।’

 

नेपालमा महँगो भएकै कारण सरकारले कात्तिकमा आयात भन्सार १ प्रतिशतमा झारेको थियो। तर पनि भारतभन्दा नेपालमा महँगो पर्छ । त्यही कारण आयातमा कमी आएको मोरले बताउनुभयो। तेस्रो मुलुकबाट आयात हुने यी कच्चापदार्थ व्यवसायीले प्रशोधन गरेर पुनः भारत निर्यात गर्छन् । तर अहिले भारतमै सस्तो पर्ने भएकाले आयातमा कमी आएको उनको भनाइ छ । मोबाइल टेलिफोन आयात पनि घटेको छ । विभागका अनुसार गत वर्ष १० महिनामा ३६ अर्ब ९४ करोड बराबरको आयात भएको मोबाइल अहिले २२ अर्ब २९ करोडमा झरेको छ । कोइलाको आयात पनि ९ अर्ब ७२ करोडले घटेर २२ अर्ब ८ करोडमा सीमित भएको छ । चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) मुलुकको समग्र व्यापार घाटा १२ खर्ब ४ अर्ब पुगेको विभागको तथ्यांक छ । यो व्यापार घाटा गत वर्षको तुलनामा कम हो । गत वर्ष उक्त समयमा मुलुकको व्यापार घाटा १४ खर्ब ३१ अर्ब पुगेको थियो । आयातमा कमी आएसँगै मुलुकको व्यापार घाटामा राहत मिलेको हो । १० महिनामा कुल १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँको आयात भएको छ । गत वर्षको उक्त अवधिमा यस्तो आयात १६ खर्ब ४ अर्ब ६५ करोडको थियो । आयात १६.७८ प्रतिशत घटेको छ । आयात मात्रै नभई निर्यात पनि २४.४९ प्रतिशतले घटेको छ । १० महिनामा मुलुकबाट १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।