२८ औं पटकको आरोहणका लागि कामीरिता मंगलबार पुन: सगरमाथा चढ्दै
2023-05-24 13:26:26cri
Share with:

सोलुखुम्बुको पाङ्बोचेका ४६ वर्षीय पासाङ दावा शेर्पाले सर्वाधिक सगरमाथा आरोहण गर्ने नेपाली आरोही कामीरिता शेर्पाकै २७औं पटकको विश्वकीर्तिमान बराबरी गरेका छन्।

इम्याजिन नेपाल ट्रेक एन्ड एक्सीपिडिसन प्रालिका कार्यकारी निर्देशक दावा ग्यालजेन शेर्पाका अनुसार पासाङ दावा शेर्पाले सोमबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन्। यो आरोहणसँगै उनी कामीरिता शेर्पाकै हाराहारीमा सबैभन्दा बढी पटक विश्वकै अग्लो चुचुरोमा आरोहण गर्ने विश्वकै दोस्रो व्यक्ति बनेका छन् ।

विश्वभर आरोहीमाझ पादावा उपनामले चिनिने पासाङ दावाले यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण सिजनमै दुई पटक सगरमाथा आरोहण गरेका हुन् । यसअघि पादावा वैशाख ३१ गते चुचुरोमा पुगेका थिए । त्यो उनको २६औं आरोहण थियो ।

यसैबीच आफ्नै जिल्लावासी पासाङ दावा शेर्पाको रेकर्ड बराबरीमा पुगेपछि गएको बधुबार २७औं पटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही कामीरिता २८औं पटकको रेकर्ड बनाउन यसै सिजनमा दोस्रो पटक सगरमाथा आरोहण गर्दैछन्। उनी आबद्ध कम्पनी सेभन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, कामीरिता मंगलबार सगरमाथा चुचुरो पुग्दैछन्।

कामीरिताले पहिलोपटक २०५१ मा सगरमाथा आरोहण गरेका थिए भने पासाङ दावाले २०५५ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। आरोहीहरूमाझ ‘लुकेको रत्न’ पनि भनिने पासाङ दावालाई सर्वाधिक मन पर्ने खुम्बु क्षेत्रको अमादब्बलम हिमाल हो, कान्तिपुर अनलाइनले जनाएको छ।