नाका खुलेको एक महिनामै चीनतर्फ निर्यात दोब्बर
2023-05-24 13:24:33cri
Share with:

चीनसँगका उत्तरी सीमा नाकाबाट द्विपक्षीय व्यापार सुचारु भएसँगै नेपालबाट निकासी पनि बढ्न थालेको छ। गत चैत १८ (अप्रिल १) बाट रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आएसँगै चीनतर्फको निकासी बढेको हो। वैशाख १८ बाट तातोपानी र हिल्सा नाकासमेत सञ्चालनमा आएसँगै चीनतर्फको निर्यात व्यापार लयमा फर्कन थालेको छ । चीनतर्फ चालु आवको ९ महिना अर्थात् चैतसम्म जति वस्तु निकासी भएको छ, त्यसभन्दा वैशाख एक महिनामा बढी निकासी भएको कारोबार अनलाइनले जनाएको छ । नाका खुलेको एक महिनामै दोब्बरभन्दा बढीले निकासी बढेको भन्सार विभागले जनाएको छ।

 

विभागको तथ्यांकअनुसार चैतसम्म नेपालले चीनतर्फ ६३ करोड ६८ लाख ३२ हजार रुपैयाँबराबरको वस्तु निकासी गरेकोमा वैशाखमा मात्र ७१ करोड ६० लाख ३८ हजारको निकासी गरेको छ। यससँगै तीन वर्षपछि चीनतर्फ नेपालको निकासी व्यापार १ अर्ब नाघेको छ। चालु आवको १० महिनामा चीनतर्फ नेपालले १ अर्ब ३५ करोड २८ लाख ७० हजारबराबरको वस्तु निकासी गरेको छ।

उत्तरी नाका खुले पनि चीनबाट आयात भने स्थिरजस्तै छ। चैतमा चीनबाट १६ अर्ब ६६ करोड २६ लाख ६६ हजारको आयात भए पनि वैशाखमा नेपालले चीनबाट १६ अर्ब ७७ करोड २ लाख १८ हजार रुपैयाँको वस्तु आयात गरेको छ। चिनियाँ सामान नेपालले यसअघि भारतको कोलकाता बन्दरगाह हुँदै आयात गर्ने गरेकोमा उत्तरी नाका खुलेसँगै ढुवानी सहज भएको छ। यसले आयातकर्ताको समय र लागत दुवै बचत भएको नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधर बताउनुहुन्छ। चीनबाट नेपालले लत्ताकपडा, फलफूलजस्ता अत्यावश्यकीय वस्तुमात्र आयात गर्ने भएकाले उत्तरी नाका सुचारु भए पनि आयातमा ठूलो फरक नदेखिएको तर निर्यातमा भने यसले सकारात्मक प्रभाव पार्ने तुलाधरको भनाइ छ। उहाँका अनुसार चीनले दिएका भन्सार सुविधा उपयोग गर्ने हो भने नेपालले धेरै ठूलो परिमाणमा निकासी गर्न सक्ने र निकासी व्यापारमा पनि चीन दोस्रो स्थानमा आउन सक्ने अवस्था छ ।

गत आर्थिक वर्षमा नेपालमा चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपैयाँको सामान आयात भएकोमा निकासी भने ८० करोड ८७ लाख ५४ हजार रुपैयाँमा सीमित भएको थियो। यसरी चीनसँगको कुल व्यापारघाटा २ खर्ब ६३ अर्ब रुपैयाँ पुगेकोमा चालु आवमा भने त्यसमा केही सुधार हुनसक्ने देखिएको छ । नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष तुलाधर विगतमा कोभिड महामारी, उत्तरी नाकाको कमजोर पूर्वाधारसँगै विश्वव्यापी आर्थिक मन्दीलगायत कारणले चीनसँगको व्यापार कमजोर भए पनि अब भने लयमा फर्कने संकेत देखिएको बताउनुहुन्छ।

 

रसुवागढी नाकाबाट आंशिक रुपमा आयात–निर्यात भए पनि ३८ महिनादेखि मानिसको आवागमन ठप्प थियो। नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको मे महिनामा ल्हासामा सम्पन्न बैठकले आयात–निर्यात गर्ने सहमति गरेपछि दुईतर्फी रुपमा मानिसको आवतजावातसहित रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आएको हो । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तर्फबाट तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

 

संघका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ नेपालसँग नजिक रहेको र नेपालको आर्थिक विकासमा सहयोगी हुन सक्ने मुलुकसँगको सम्बन्ध पहिलेको जस्तै लयमा फर्काउन नेपालको आर्थिक कूटनीति पनि बलियो हुनुपर्ने बताउनुहुन्छ। उहाँका अनुसार नेपालका मौलिक उत्पादनहरु कृषि, जडिबुटी, कच्चा पदार्थ जस्ता वस्तु गाउँ–गाउँबाट संकलन गरी प्रशोधन गरेर तयारी वस्तु चीनतर्फ निर्यात गर्न सकिनेछ।