काठमाडौँका चोभारमा रहेको चोभार सुक्खा बन्दरगाह सञ्चालन गर्न निजी क्षेत्रसँग छलफल भएको छ। इन्टरमोडल यातायात विकास समितिले चोभार बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, नाडा अटोमोबाइल एसोसिएसनलगायतका सरोकारवाला निकायसँग छलफल गरेको हो। आयात निर्यात सहजीकरण गर्ने उद्देश्यका साथ चोभारमा सुक्खा बन्दरगाह निर्माण भई २०७८ चैत २२ देखि सञ्चालनमा आए पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। समितिले निजी क्षेत्रलाई चोभार सञ्चालनको जिम्मा दिने तयारी गरेको जनाएको छ।
छलफलमा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि निजी क्षेत्रको सहयोग र साथको अपेक्षा रहेको बताउनुभयो । वीरगन्ज एकीकृत जाँच चौकी र वीरगन्ज सुक्खा बन्दरगाहमा रहेका एक हजार ९५० वटा नयाँ जिप र भ्यानलाई चोभार सुक्खा बन्दरगाहमा ल्याउने सम्बन्धमा कानुनी व्यवस्था भइसकेको उहाँले जानकारी दिनुभयो।
गोरखापत्र अनलाइनका अनुसार चोभार सुक्खा बन्दरगाहबाट दैनिक दुई/तीन वटा सवारीसाधनले सुक्खा बन्दरगाहको सेवा उपभोग गरिरहेको र गोदाममा समेत सामान भण्डारण गरिएको समितिले जनाएको छ ।नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपाल–भारतबिच हाल विराटनगरमा एक, वीरगन्जमा दुई, भैरहवामा एक र काँकडभिट्टामा एक गरी कुल पाँच वटा र चीनतर्फ सिन्धुपाल्चोकको तातोपानीमा एक सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी सञ्चालन भइरहेका छन् ।