काठमाडौंमा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौंमा सम्पदा घुम्ती बस सेवा सुरु
2023-05-24 16:27:53cri
Share with:

काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौंमा सम्पदा घुम्ती बस सेवा सुरु भएको छ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा यस्तो सेवा थालेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने आजबाट सम्पदा घुम्ती बस सेवाको परीक्षण सञ्चालन गरिएको हो।

 

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले ललितपुरबाट सम्पदा घुम्ती बस सेवा सुरु गर्नुभयो। बस सेवाको उद्घाटन गर्दै मन्त्री किरातीले यो बस सेवा सञ्चालनले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन हुने अपेक्षा गरिएको बताउनुभयो। उहाँले उपत्यकाको पर्यटन प्रवर्द्धनमा लागि यो एउटा सानो प्रयास भएको बनाउँदै यसको परीक्षण पश्चात सेवा विस्तार गरिने समेत जानकारी दिनुभयो।

 

मंगलबारदेखि सुरु भएको सम्पदा बसमा पर्यटनमन्त्री किरातीले पुल्चोकदेखि नारायणहिटी दरबार संग्रहालयसम्म यात्रा समेत गर्नुभयो।

कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पर्यटन प्रवर्द्धनका लागि सम्पदा घुम्ती बस सेवा सहयोगी हुने बताउनुभयो। उहाँले सबैको समन्वय र सहकार्यमा यसलाई सफल बनाउनु पर्ने समेत बताउनुभएको अनलाइनखबरले लेखेको छ।