मुलुकको आम्दानीभन्दा खर्च सवा २ खर्ब बढी हुने प्रक्षेपण
2023-05-25 15:49:56cri
Share with:

चालु आर्थिक वर्षमा मुलुकमा उपलब्ध कुल आम्दानी (खर्चयोग्य आम्दानी) भन्दा कुल खर्च करिब सवा २ खर्ब रुपैयाँले बढी हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । यो रकम चालु आवको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब चार प्रतिशत हो ।

कार्यालयका अनुसार चालु आवमा मुलुकको राष्ट्रिय पुँजी निर्माण र अन्तिम उपभोग गरी कुल ६९ खर्ब ६० अर्ब ५५ करोड रुपैयाँ कुल खर्चयोग्य (आय) रकम छ । सोही अवधिमा मुलुकको कुल राष्ट्रिय आय ६७ खर्ब ३९ अर्ब ९० करोड रुपैयाँ छ । यसरी हेर्दा कुल व्यय (राष्ट्रिय पुँजी निर्माण र अन्तिम उपभोग) र कुल राष्ट्रिय आयबीचको अन्तर २ खर्ब २० अर्ब रुपैयाँले ऋणात्मक हुने प्रक्षेपण तथ्यांक कार्यालयले गरेको हो । गत आवमा यस्तो स्रोत अन्तर ६ खर्ब २३ अर्ब रुपैयाँले ऋणात्मक थियो ।

 

गत वर्षको तुलनामा यो वर्ष आयातमा कमी आएको छ । यसले व्यापार घाटामा पनि कमी ल्याएकाले अर्थतन्त्रमा करिब सवा २ खर्ब रुपैयाँले मात्र स्रोत अन्तर ऋणात्मक देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बताउनुभयो। विदेशमा गएका नेपालीले गत एक वर्षभित्रमा पठाएको रकम र नेपालीले विदेशमा लगानी गरेबापत प्राप्त भएको प्रतिफललाई राष्ट्रको प्राथमिक आय शीर्षकमा गणना गरिन्छ । यस्तै, नेपालीले विदेश गएको एक वर्षभन्दा पछि पठाएको रकम र सरकार, गैरसरकारी संघसंस्था, व्यक्ति र परिवारले प्राप्त गरेको सहयोग तथा अनुदानमार्फत प्राप्त रकमलाई द्वितीय आयमा गणना गरिन्छ ।

 

कान्तिपुर अनलाइनका अनुसार चालु आवमा नेपालले प्राथमिक आयबापत ८२ अर्ब रुपैयाँ र द्वितीय आयबापत १३ खर्ब २२ अर्ब रुपैयाँ प्राप्त गर्ने अनुमान तथ्यांक कार्यालयले गरेको छ । गत आवको तुलनामा उल्लिखित दुवै आम्दानी बढेका छन् ।

आयात घटेको र रेमिट्यान्स आप्रवाह बढेकाले ती आम्दानी पनि बढेको कार्यालयले प्रस्ट्याएको छ । गत आवमा ५७ अर्ब रुपैयाँ प्राथमिक आम्दानी र ११ खर्ब २५ अर्ब रुपैयाँ द्वितीय आम्दानी प्राप्त भएको तथ्यांक कार्यालयले जनाएको छ । त्यसो त आव ०७५/७६ मा स्रोत अन्तर २ खर्ब ६५ अर्ब रुपैयाँले ऋणात्मक थियो । ०७६/७७ मा यस्तो रकम घटेर ३३ अर्ब ७६ करोड रुपैयाँ मात्र ऋणात्मक रहेको स्रोत अन्तर ०७७/७८ मा फेरि बढेर ३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको थियो ।

 

हरेक वर्ष स्रोत अन्तर ऋणात्मक रहँदै आएकाले स्रोतको अभाव पूर्ति गर्न सरकारले चालु खर्चमा मितव्ययिता र पुँजीगत खर्चमा बढोत्तरी गर्नुपर्ने राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी रामप्रसाद थपलियाले जनाउनुभयो।

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आव २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर पौने २ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । यस अवधिमा म्यानुफ्याक्चरिङ, निर्माण, व्यापारलगायत क्षेत्रको वृद्धिदर ऋणात्मक हुनुका साथै अन्य क्षेत्रको वृद्धिदरमा पनि कमी आएकाले समग्र अर्थतन्त्रको वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशतमा सीमित हुने कार्यालयको प्रक्षेपण छ ।

 

सरकारले चालु आवमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य तय गरेकोमा आर्थिक वर्ष ०७९/८० को वार्षिक लेखा तथ्यांकसम्बन्धी प्रतिवेदनले नेपालको अर्थतन्त्रको विस्तार खुम्चिने प्रक्षेपण गरेको हो । तर उक्त अवधिमा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

हालका दिनमा नेपालमा कोभिडको प्रभावको अवस्था नरहे पनि विश्वका अन्य देशमा भएका घटनाले विश्वव्यापी रूपमा आपूर्ति शृंखला खलबलिएको तथा पेट्रोलियम पदार्थलगायत वस्तुमा भएको मूल्यवृद्धिको असर हाम्रो अर्थतन्त्रमा पनि परेकाले अर्थतन्त्रको विस्तार खुम्चिने अनुमान गरिएको तथ्यांक कार्यालयले जनाएको छ ।