नेपालबाट अलैंची निर्यात हालसम्मकै उच्च
2023-05-25 15:46:59cri
Share with:

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ७ अर्ब २८ करोड १४ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । यो १० महिनामा ८९ लाख २१ हजार ६ सय ७९ किलो अलैंची निर्यात भएको हो, जुन हालसम्मकै उच्च हो । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई अहिलेसम्मकै उच्च निर्यात रहेको उल्लेख गर्दै भन्नुहुन्छ, ‘१० महिनामै ७ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको छ, अझै २ महिना बाँकी छ । यो वर्ष ८ अर्बको हाराहारीमा निर्यात हुन सक्छ ।’ यसअघि आव ०७७/७८ मा पनि ७ अर्ब १ करोड ८ लाख २९ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो । गत आवमा ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४ सय ४३ किलो अलैंची निर्यात भएको विभागको तथ्यांक छ । अलैंची निर्यात बढे पनि किसानले पाउने मूल्य भने क्रमशः घट्दै गएको छ ।

कृषि मन्त्रालयले ०७७/७८ मा सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर १५ हजार ६ सय ६८ हेक्टर जग्गामा अलैंची खेती हुन्छ । यसबाट ८ हजार २ सय ८९ टन अलैंची उत्पादन हुन्छ । आर्थिक वर्ष ०७६/७७ मा १६ हजार ५ सय ६२ हेक्टर जमिनबाट ९ हजार ५ सय ४५ टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७५/७६ मा १५ हजार ५५ हेक्टर जमिनमा अलैंची खेती भएको थियो । उक्त वर्ष ७ हजार ९ सय ५४ टन उत्पादन भएको कृषि तथ्यांक छ ।

अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको महासंघले जनाएको छ । मुलुकमा उत्पादित २ प्रतिशत अलैंची मात्रै आन्तरिक खपत हुने व्यवसायी बताउँछन् । नेपाली अलैंचीको मुख्य बजार भारत मात्र रहँदै आएकोमा पछिल्लो समय जर्मनी, इटाली, अमेरिका, पाकिस्तानलगायत मुलुकमा निर्यात हुन थालेको छ । भारतमा कच्चा पदार्थका रूपमा अलैंची जाने गरेको कान्तिपुर अनलाइनले लेखेको छ ।